संघमा प्रतिपक्षमै बस्ने अहिलेसम्मको राप्रपाको लाइन भए पनि केन्द्रमा जे हुन्छ, प्रदेशमा त्यही हुनुपर्छ भन्ने नभएको उनले ‘रातोपाटी’ सँगको अन्तर्वाताका क्रममा बताएका हुन् ।
प्रदेश १ मा एमालेसँग गठबन्धन गरेर निर्वाचन लडेको राप्रपाको प्रत्यक्षमा २ र समानुपातिकमा ४ गरेर ६ जना सांसद निर्वाचित भएका छन् ।एमालेले र सत्ता गठबन्धन गरी दुवै पक्षले राप्रपालाई ‘आफ्नो नेतृत्वमा सरकारमा आउन’ आग्रह गरिरहेका छन् ।
‘सबै दलहरुको आ–आफ्नो आकलन हुन्छ नै । त्यसमा पनि प्रदेश १ मा धेरै टाइट अवस्था रह्यो । त्यसो हुँदा पनि राप्रपाले के गर्छ भनेर दलका नेताहरुले चासो राखिरहनु भएको छ । हामी कसलाई सहयोग गर्ने भन्ने विषयमा कुनै निष्कर्षमा पुगिसकेका छैनौं,’ सिटौलाले भने ।उनले केन्द्रमा राप्रपा प्रतिपक्षमै बस्ने निधो गरेको पनि बताए । यद्यपि प्रदेशमा भने सरकारमा जानसक्ने संकेत गरे ।
‘केन्द्रको सम्बन्धमा हामी सरकारमा अहिले नजाने भन्ने नै सोचाई छ । परिस्थिति के बन्छ, त्यो हेर्न बाँकी नै छ,’ उनले भने, ‘केन्द्रले संघमा त्यस्तो निर्णय गरे पनि प्रदेशमा पनि त्यही हुनुपर्छ भन्ने छैन । परिस्थिति हेरेर राप्रपाले आवश्यक निर्णय गर्छ ।’