हत्याका आरोपी हस्तबहादुर लिम्बू । तस्बिरः मोरङ प्रहरी
विराटनगर । मोरङको केराबारीमा १ जना पुरुषको हत्या भएको छ । केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको हत्या भएको हो ।राईलाई लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बूले गत आइतबार दिउँसो आक्रमण गरेका थिए ।
लिम्बू आपराधिक पृष्ठभूमिका व्यक्ति भएको खुलेको छ । केराबारी–९ स्थित एउटा पसलअगाडि भेट हुनासाथ लिम्बू र राईबीच विवाद भएको पाइएको मोरङ प्रहरीले जनाएको छ ।विवाद बढ्दै गएपछि लिम्बूले कुटपिट गर्दै राईलाई भुइँमा पछारेका थिए । बायाँ कन्चटमा चोट लागेर सिकिस्त भएका राईलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । उपचार सम्भव नहुने भन्दै परिवारका सदस्यले फर्काएर मंगलबार दिउँसो घर लगेका थिए ।
घर पुर्याइएका राईको मृत्यु भएको जानकारी प्रहरीले राति ९ बजेतिर पाएकोे हो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।लिम्बूलाई इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले बुधबार बिहानका राति पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
लिम्बूविरुद्ध प्रहरीले यसअघि नै जबरजस्ती करणी उद्योग र अभद्र व्यवहारको मुद्दा चलाएको थियो । प्रहरीका अनुसार मुद्दामा दोषी ठहर भएपछि सजाय भुक्तान गरेर उनी छुटेका थिए ।