काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज बुधबार हुँदै छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी परेको छ ।

सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् । उनको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् ।

महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा. शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन् ।

कांग्रेस महामन्त्री थापाले मंसिर ४ गतेको चुनाव अगावै आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए ।

अहिले संस्थापन बाहेकको समूहमा सर्वसम्मत बन्दै महामन्त्री थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् ।

कांग्रेसभित्र मात्रै हैन, राजनीतिक वृत्तमै चासो छ, नेपाली राजनीतिका कुटिल खेलाडीसमेत रहेका थापाले आफ्नै पार्टी सभापति देउवालाई पराजित गर्लान् ?

पार्टी सभापति देउवालाई चुनौती दिँदै संसदीय दलको उम्मेदवार बनेका महामन्त्री थापा नेविसंघबाट राजनीतिमा उदाएका हुन् ।

२०५१ सालमा त्रिचन्द्र क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य निर्वाचित थापा २०५५ सालमा सभापति निर्वाचित भएका थिए ।

२०५७ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदै २०५९ मा महामन्त्री बने । लोकतान्त्रिक आन्दोलन उठ्दै गर्दा २०५९ असोज १८ पछि तत्कालीन सरकारले थापालाई राजकाज मुद्दा लगाएको थियो ।

२०६२–०६३ को आन्दोलनमा गणतन्त्रका पक्षमा खेलेको भूमिकाले थापालाई चर्चित बनायो । अहिले उनले पुस्तान्तरणलाई मुद्दा बनाएका छन् ।

पार्टीको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित थापा २०७२ सालको १३ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।

गत वर्षको १४ औँ महाधिवेशनमा कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका थापा २०६४ सालको संविधान सभामा समानुपातिकबाट सदस्य बनेका थिए।

दोस्रो संविधान सभामा काठमाडौं ४ बाट जितेका उनी अहिलेसम्म त्यही क्षेत्रबाट अपराजित छन् । २०७० सालमा उनी स्वास्थ्य मन्त्री बनेका थिए ।

कांग्रेसको दोस्रो पुस्ताले पार्टीको भविष्य उनैमा देखेको छ । तर संस्थापन पक्षले भने अहिले पार्टीमा परिपक्व र नेतृत्व जोड्ने नेता चाहिएको भन्दै सभापति देउवाकै वकालत गरेको छ ।

संसदीय अंक गणितमा भने थापाभन्दा देउवा बलिया देखिन्छन् । के त्यो अंक गणित गगनले भत्काउलान् ? धेरैको चासो यसैमा छ ।

28
Shares
६ पुष २०७९, बुधबार ०६:५६