९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका छन् ।
प्रदेशसभा सचिवालयले नवनिर्वाचित सांसदलाई स्वागत, शपथ तथा प्रदेशसभा बैठक सञ्चालनका लागि व्यवस्थापनको काम सकिएको जनाएको छ ।प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले रङरोगन तथा सरसफाई गरेर संसद भवन र सभाहल तयारी अवस्थामा राखिएको बताए । सांसदहरुको शपथको मिति भने तय भइनसकेको जानकारी उनले दिए ।
प्रदेशसभा सचिवालयमा संसदीय दलको कार्यालय, सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, मुख्यमन्त्रीको कार्यकक्ष र सत्तापक्षीय दलको कार्यालय व्यवस्थापनको सबै काम सकिएको पराजुलीले बताए ।प्रदेशसभा सदस्यमा नेकपा (एमाले) ले ४०, नेपाली कांग्रेसले २९, नेकपा (माओवादी केन्द्र) ले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ६, नेकपा (एकीकृत समाजवादी) ले ४ र जनता समाजवादी पार्टी (जसपा) ले १ सिट प्राप्त गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावको अन्तिम परिणामसहित निर्वाचित प्रदेशसभा सदस्यको नामावली गत शनिबार प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझाएका थिए ।
संवैधानिक व्यवस्था अनुसार सुरुमा प्रदेश प्रमुखले प्रदेशसभामा प्रतिनिधित्व गर्नेमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउने छन् । त्यसपछि ज्येष्ठ सदस्यले अन्य प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ ।
प्रदेश १ मा नेपाली कांग्रेसबाट निर्वाचित गयानन्द मण्डल ज्येष्ठ सदस्य हुन् । निर्वाचन आयोगले बुझाएको उम्मेदवारको विवरण अनुसार मण्डल ७९ वर्ष पुगेका छन् । उनी मोरङको निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ बाट निर्वाचित भएका थिए ।
सभामुख र उपसभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यकै अध्यक्षतामा प्रदेशसभाको बैठक सञ्चालन हुने छ ।