विराटनगर । झापाको मेचीनगरमा एक दम्पती मृत फेला परेका छन् । चारआली जङ्गलमा मृत भेटिएका उनीहरु अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र श्रीमती सन्जु रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको शव सोमवार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।

उनका अनुसार इङ्नाम झुन्डिएको र सञ्जु भुइँमा लडेको अवस्थामा भेटिएकी थिइन् ।

शवको प्रकृति हेर्दा १० दिनअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, डोरी फेला पारेको छ ।

सोमवार दिउँसो घाँस लिन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मेचीनगर–१२ मा डेरा बस्दै आएका उनीहरु १० दिनदेखि डेराबाट बेपत्ता थिए । स्थानीयका अनुसार नेत्रकुमारले सन्जुसँग दोस्रो विवाह गरेका थिए । सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ ।

231
Shares
५ पुष २०७९, मंगलवार १०:४२