काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड आज मंगलबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । यो क्रम एक महिनासम्म जारी रहने भएकाले यात्रा गर्दा समय मिलाएर गर्नुपर्ने देखिएको छ ।

मर्मत र विस्तारको कामका कारण बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सडक खण्डमा गाडीको आवागमन रोकिने छ । सडक खण्डमा पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले गाडीको आवागमन रोक्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोलामा पुल बनाउनका लागि काम हुनेछ ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनिबस, माइक्रो लगायत साना गाडीलाई १५ किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोकिने छ ।

मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्याङ्करलगायत ठूला गाडी भने भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १० बजेर ५० मिनेटदेखि रोकिने छन् ।

काठमाडौंबाट छुटेका गाडीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखराबाट छुटेका गाडीलाई बेनीटारदेखि पावर हाउससम्म रोकिने छ ।

यस्तै, काठमाडौबाट छुटेका मालवाहक गाडीलाई लेबाटारमा र पोखराबाट छुटेका मालवाहक गाडीलाई आँबुखैरहनीमा बिहान पौने ११ बजे रोकिने छ ।

बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय गाडीलाई अनुकूलता हेरी चलाउन दिइने छ । सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा २० पुल छन् । तीमध्ये पाँच पुल बनिसकेका छन् । बाँकी पुल बन्ने चरणमा रहेका छन् । आउँदो असारसम्ममा १० वटा पुल निर्माण सक्ने गरी कामअघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए ।

२०७६ साल चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । आउँदो ९ गते सम्झौताको अवधि सकिँदै छ । विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो ।

14
Shares
५ पुष २०७९, मंगलवार ०७:१८