प्रतीकात्मक तस्बिर ।
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाकी १४ वर्षीया दुईजना जना बालिकालाई हाटेलमा लगेर बलात्कार गरेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।बालिकाहरुलाई जबरजस्ती करणीको घटनाका मुख्य आरोपी सुन्दरहरैंचा–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा–६ का २१ वर्षीय प्रताप तामाङ छन् । घटनामा सहयोग गरेको आरोपमा सुन्दरहरैँचा–५ की २० वर्षीया बेन्जु चौधरी र सुन्दरहरैँचा–६ का २० वर्षीय पदम कार्की पनि पक्राउ परेका छन् ।
पक्राउ परेका ४ जनाविरुद्ध जबरजस्ती करणीमा मुद्दाका लागि म्याद थप गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।कक्षा ८ र ९ मा अध्ययनरत उनीहरु गत पुस १ गते शुक्रबार घर नर्फिकएपछि शनिबार घटना बाहिरिएको थियो । शुक्रबार दुवै जना बालिका विद्यालय हिँडे पनि विद्यालय बन्द रहेको थाहा पाएपछि उनीहरु सुन्दरहरैंचाकै गौशालामा भलिबल खेल हेर्न पुगेका थिए। ।
भलिबल आयोजना स्थलमा भेटिएका सचिन तिम्सिना र प्रताप तामाङले ललाइफकाइ गरेर सुन्दरहरैँचा–७ बेलगाछीमा रहेको होटल दरबार इन रेस्टुरेन्ट एण्ड लजमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।विद्यालय गएका बालिकाहरु घर नफर्किएपछि खोजीका लागि प्रहरीलाई अभिभावकले अनुरोध गरेका थिए । अर्को दिन शनिबार दुवैजना घर आएपछि अभिभावक र प्रहरीले सोधखोज गर्दा घटनाबारे उनीहरुले बताएका थिए ।
पीडित बालिकाका अभिभावकले आइतबार इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएको र जाहेरीका आधारमा तिम्सिना र तामाङलाई पक्राउ गरिएको थियो । दुवै जनालाई पक्राउ गरी थालिएको प्रारम्भिक अनुसन्धानबाट घटनामा सहयोग गर्ने अन्य २ जना रहेको खुलेको थियो ।
सोही आधारमा बेन्जु चौधरी र पदम कार्कीलाई पनि पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । तिम्सिना र तामाङसँग बालिकाको भेट गराउने, होटलको कोठा मिलाइ दिने, खानेकुराको व्यवस्था गरिदिने तथा बलात्कारपछि बालिकालाई गर्भनिरोधक औषधि उपलब्ध गराउने काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।