विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोले बेरोजगारहरू युवायुवतीहरूलाई आकर्षण गरेको हो ।
रोजगार मेलाको स्टलमा हालसम्म २ सयभन्दा बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरिसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए ।स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए ।
मेलामा रोजगारीका लागि फर्म भर्नेहरूमा धेरैजसो स्नातक तहमा पढ्ने विद्यार्थीहरू रहेको संयोजक यादवले बताए । कामको खोजीमा विद्यार्थीहरू धेरै आएका र सीप सिकेका दक्ष जनशक्ति थोरै मात्रै भएकाले माग भएको कामका लागि ‘म्याच’ गर्न गाह्रो भएको यादवले जानकारी दिए । काम खोज्न आउनेहरू धेरै जसोले लेखा, रिसेप्सनलगायतका पदहरूमा आवेदन दिएका छन् ।रोजगारदाताहरूले भने धेरैजसो उद्योगमा काम गर्ने दक्ष तथा अर्धदक्ष कामदार र थोरै मात्रामा लेखा तथा रिसेप्सनका लागि माग गरेको जनाइएको छ ।
एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । सोमबार अनुसन्धान र प्रविधि शून्य लगानी खेती–प्रणाली, अन्न भण्डारणको वैज्ञानिक पद्धति, खाद्य प्रशोधन : परम्परागत प्रविधि नयाँ अवसर, प्रशोधित खाद्यको गुणस्तर, मासु प्रशोधनको प्रविधि र उद्योग, नेपालमा अलँची ड्रायर प्रविधिको रुपान्तरण विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुतिका साथै छलफल भएको थियो ।
मंगलबार प्रदेश १ मा नवप्रवर्तन (स्टार्टअप) तथा कृषि व्यवसायका अवसर र अवरोध, प्रदेशमा कृषि व्यवसाय लजिस्टिक सेवाहरू: अनुभव र अबको बाटो र उदीयमान नवप्रवर्तन (स्टार्टअप) इकोसिस्टम र इन्कुबेटरहरू: आगामी मार्गचित्रमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दै छलफल हुने उद्योग संगठन मोरङले जनाएको छ ।
त्यसैगरी, दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । मंगलबार थिमेटिक फेसन शो आयोजना हुँदैछ । प्लाष्टिकलाई सही ढंगले उपयोग गर्नु पर्दछ भन्ने सचेतना अभिवृद्धि गर्ने उद्देश्यले थिमेटिक फेसन शो हुन लागेको हो । प्लाष्टिकजन्य प्याकेजिङ सामाग्री उत्पादन गर्ने उद्योगहरुको संस्था प्लाष्ट फाउण्डेशनको सहकार्यमा रिड्युज, रियुज र रिसाइकल थिममा फेशन शो हुन्छ ।
मोडलहरुले प्लाष्टिकजन्य सामग्रीहरुको पुनः प्रयोग गरी फ्रेब्रिक गरिएको कपडाहरु लगाउने छन् । हरेक वस्तुको प्रयोग पुनः प्रयोग हुन्छ, गर्न सकिन्छ भन्ने सन्देशसहित सचेतना अभिवृद्धि गर्न काठमाडौं बाहिर पहिलो पटक विराटनगरमा फेसन शो हुन लागेको प्रचार प्रसार संयोजक नन्दकिशोर राठीले बताए ।