विराटनगर । प्रदेश १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित कार्यदलले मुख्यमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको छ ।

कार्यदलका संयोजक आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझाउने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरकुमार गिरी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईको पनि उपस्थिति थियो ।

गत वर्षको माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न भनेर आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले यस अवधिमा सार्वजनिक सूचना प्रकाशित गरी आवश्यक जग्गाको माग गरेको थियो । सोअनुरुप विभिन्न स्थानबाट जग्गा दिने प्रतिवद्धता प्राप्त भएको कार्यदलका संयोजक एवं आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले बताए ।

कार्यदलमा विराटनगर, कटहरी, ग्रामथान, बूूढीगंगा, दुहवी, इटहरी र सुन्दरहरैंचा नगरपालिकाहरूका प्रमुखहरू सदस्य थिए । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव उक्त कार्यदलको सदस्य सचिव थिए ।

14
Shares
४ पुष २०७९, सोमबार १३:५७