विराटनगर । कोसी अस्पतालका चिकित्सक र कर्मचारीले दुई महिनायता मासिक तलब पाउन सकेका छैनन् । काम गरेअनुसार तलब नपाएपछि उनीहरुले आइतबार दबावमूलक आन्दोलन गरेका छन् । आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित बनेको छ ।

अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १ सय २१ जना चिकित्सक र कर्मचारीले कात्तिक र मंसिर महिनाको तलब पाउन सकेका छैनन् ।

कर्मचारी र चिकित्सकहरुले आइतबार बिहान १ घण्टा अस्पताल परिसरमा धर्ना दिएका थिए ।

विकास समितिले चिकित्सक, स्टाफ नर्स, हेल्थ असिस्टेन, अनमी, फार्मेसी सहायक, ल्याब टेक्निसियन, खरिदार, मुखिया, चालक, कार्यालय सहयोगीलगायतलाई करारमा नियुक्त गरेको थियो । समितिको बैठक बस्न नसक्दा उनीहरूको करार अवधि थप हुन सकेको छैन।

अस्पतालका डा. रोशन खड्काले दुई महिनासम्म तलब नपाएपछि दबाव दिन आन्दोलनमा उत्रिएको बताएका छन् ।

चिकित्सक र कर्मचारीले सोमबार हातमा कालोपट्टी बाँधेर काम गर्ने भएका छन् । यस्तै, मंगलबार अस्पताल परिसरमा बिरामीको उपचार गरिने भएको छ ।

28
Shares
३ पुष २०७९, आईतवार १६:२०