सरकार गठनका लागि दलहरुले अनौपचारिक छलफल समेत सुरु गरेका छन् । सरकार बनाउन पुग्ने सांसद संख्या जुटाउने रणनीतिमा मुख्य दलहरुको लागेका छन् ।
कुनै पनि दलले बुहमत प्राप्त गर्न नसकेकाले सहज रुपमा सरकार बनाउन सक्ने अवस्था छैन । प्रदेश १ को निर्वाचन परिणामअनुसार नेकपा एमाले ठूलो दल बनेको छ । तर सरकार बनाउन सक्ने गरी उसँग स्पष्ट बहुमत छैन ।नेपाली कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनका लागि पनि सरकार बनाउन पर्याप्त सांसद छैनन् ।
सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु मिलेको अवस्थामा कूल ४६ सदस्य एक ठाउँ हुनेछन् । कांग्रेसको २९, माओवादीको १३ र नेकपा एकीकृत समाजवादीको ४ सिट गरी ४६ सिट गठबन्धनका पक्षमा हुनेछ ।नेकपा एमालेसँग ४० सिट छ। चुनावमा तालमेल गरेको राष्ट्रिय राप्रपाको ६ सिट छ। दुबै मिलेको अवस्थामा एमाले–राप्रपा गठबन्धनको पनि ४६ सिट मात्रै पुग्छ। राप्रपाले सरकार निर्माणमा एमालेलाई साथ दिने नदिने निर्णय गरिसकेको छैन ।
निर्वाचनमा एमालेसँग तालमेल गरेको जसपाले प्रत्यक्षतर्फ एउटा पनि सिट जितेको छैन । समानुपातिकबाट उसले एक सिट पाएको छ। जसपाले सरकार बनाउन कसलाई सहयोग गर्छ भन्ने यकिन छैन ।
दुबै गठबन्धन अब जसपालाई मनाउने ध्याउन्नमा छन् । जसपाको एकै सिटले पनि जता सहयोग गर्यो यही गठबन्धनको सरकार बन्ने सम्भावना छ ।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि बहुमत पुर्याउन ४७ जना सांसद सिट चाहिन्छ ।