काठमाडौं । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औं संस्करण पुस ३ गते सुरु हुने भएको छ । सामाजिक न्याय र मानव अधिकारलाई प्रश्रय गर्ने उद्देश्यसहित मानवअधिकार चलचित्र केन्द्रले महोत्सव आयोजना गर्न लागेको हो ।

पुस ६ गतेसम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने महोत्सवको नारा ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ राखिएको छ ।

उद्‍घाटनका दिन शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाईमिङ ट्याम्पेचर्स, टप अफ द वर्ल्ड’ देखाइनेछ ।

कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्र प्रदर्शन हुने महोत्सवमा नेपालबाट निर्देशक अभिनाष विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मानवअधिकार अभियन्ता तथा महोत्सव निर्देशक सु–लीदिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा रहने छन् ।

महोत्सवमा प्रदर्शन गरिने चलचित्रलाई ४ विधाका उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिने जनाइएको छ । त्यस्तै एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने महोत्सवमा ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ भन्ने विषयमा मास्टर क्लासको आयोजना गरिनेछ ।

मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले दिनेछन् । त्यस्तै महोत्सवमा ‘जलवायु परिवर्तन र न्याय सम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरुसँग प्यानल छलफल पनि राखिएको छ ।

महोत्सवमा प्रत्येक दिन चलचित्रहरू प्रदर्शनपछि मानव अधिकारकर्मी, चलचित्र पारखी एवम् कलाकर्मीहरु बीच चलचित्र र मानव अधिकारको विषय अन्तरक्रिया पनि गरिनेछ ।

21
Shares
२ पुष २०७९, शनिबार १८:१९