पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा माटाका भाँडा र कपडा बनाएको धेरै जसोले नदेखेका कारण परम्परागत रुपमा माटोको भाँडा बनाउने र ढाका तथा खाँडीका कपडा बनाउने स्टलमा आगन्तुकको आकर्षण देखिएको हो ।
कपडा कसरी बन्छ भन्ने धेरैले नदेखेका कारण परम्परागत सीपको प्रयोग गरेर कपडा बनाएको हेर्न धेरै मानिसहरू आइरहेको पंधाक थाकुफुङजइत खाँडी तथा ढाका कपडा उद्योगका सञ्चालक टटबहादुर लिम्बू (पंधाक)ले बताए ।‘परम्परागत शैलीबाट यहाँ कपडा बनाएको देखेर धेरै जना अचम्म पर्नु भएको छ’ लिम्बूले भने, ‘धेरै जना हाम्रो स्टलमा आएर कपडा बनाएको हेरेर र बुझेर जानु भयो । यहाँ आउने अधिकांशलाई परम्परागत कपडा बुनाइ बारे थाहा रहेन छ ।’
एक्स्पोमा राखिएको परम्परागत माटोको भाँडा बनाउने स्टलमा पनि उस्तै भीड लाग्ने गरेको छ । माटोको भाँडा बनाएको हेर्न मात्रै नभई भाँडा बनाउन पनि पाइने भएकाले माटोको भाँडा बनाउने स्टलमा आकर्षण देखिएको हो ।माटोको भाडा बनाएको हेर्न धेरै मानिसहरू आइरहेको भक्तपुरबाट आएका विनोद प्रजापतिले बताए । उनले माटोको भाडा बनाउन हेर्न तथा सिक्न र जान्नका लागि पनि मानिसहरु आएको बताए ।
परम्परागत प्रविधिको जगेर्ना गर्दै लैजानुपर्छ भन्ने मान्यताकासाथ एक्स्पोमा पराम्परागत सीपका स्टलहरू राखिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पोमा पराम्परागत सामानहरू प्रत्यक्ष बनाएको हेर्न पाइने भएकाले युवा, विद्यार्थी, कृषक, उद्योगी, व्यवसायीलगायत सबैलाई यी स्टलहरूले आकर्षित गरेको छ ।
एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न कार्यक्रम हुने गरेको छ । शुक्रबार प्रदेश १ मा लगानी प्रवद्र्धन गर्ने नीतिगत वातावरण, आर्थिक विकास र लगानी अवसरका क्षेत्रहरूका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुति गर्दै छलफल गरिएको थियो । त्यसैगरी शनिबार प्रदेश १ मा लगानीका सम्भावना र अवसरहरु तथा क्षेत्रीय सञ्जाल–सम्बन्ध र व्यापारिक अवसरको विषयमा विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुति गर्नुका साथै छलफलसमेत हुनेछ ।
एक्स्पोमा हरेक दिन राष्ट्रिय कलाकारले प्रस्तुति दिइरहेका छन् । आज शनिबार राष्ट्रिय गायक सुगम पोखरेलको प्रस्तुति रहने आयोजकले जनाएको छ ।