गगन नुनिया

विराटनगर । ‘प्याब्सन विराट फुटबल प्रतियोगिता’ पुस १ गते शुक्रबारदेखि सञ्चालन हुने भएको छ । प्याब्सन विराटनगरको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता विराटनगरको शहीद रंगशालामा सञ्चालन हुनेछ । पुस ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्याब्सन आवद्ध विद्यालयबाट ३० टिम सहभागी हुने जनाइएको छ ।

खेल नकआउटका आधारमा खेलाइने छ । विजेता र उपविजेताका साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र उपलब्ध गराइने जनाइएको छ ।

पहिलो संस्करणपछि प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएको थियो । २०७७ र २०७८ सालमा हुन नसकेको प्रतियोगिता यसपटक हुन लागेको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले बताए ।

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत १७ वर्षदेखि मुनिका खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद २५ हजार रूपैयाँ प्राप्त गर्ने छ । उपविजेता टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगिताका संयोजक नन्दलाल मण्डलले भने १७ वर्षमुनि उमेर कक्षा १० सम्मका विद्यार्थी सहभागी हुने बताए ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्याब्सन मोरङका प्रमुख सल्लहकार तथा पूर्वअध्यक्ष इन्द्र राई, मोरङ प्याब्सनका कोषाध्यक्ष बिष्णु डंगोललगायतको उपस्थिति थियो ।

(प्रशिक्षार्थी)

105
Shares
२९ मंसिर २०७९, बिहीबार ०८:१७