यसअघि उक्त आयोजनाको उपकरण परीक्षणको काम सफल भएको थियो । नेपाल विद्युत् प्राधिकरणको विज्ञ टोलीले आयोजना निर्माणपछि निरीक्षण गरेको थियो । तयसपछि आइतवारबाट परीक्षण उत्पादन सुरु गरिएको हो ।
कम्पनीका इलेक्ट्रिकल इञ्जिनियर एवम् प्लाट इञ्चार्ज अनिश खड्काका अनुसार आयोजनाले ४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।१५ दिनसम्म परीक्षण गरेपश्चात् विद्युत बिक्रीका लागि उत्पादन थाल्ने मिड सोलु हाइड्रो पावर लिमिटेडका निर्देशक माधव मैनालीले बताएका छन् ।
९ दशमलव ५ मेगावाट क्षमताको आयोजनाले हिउँद सिजनमा ५ मेगावाट मात्रै विद्युत् उत्पादन गर्न सक्ने जनाइएको छ । २०७७ असोजमा निर्माण सुरु भएको १३२ केभी प्रसारण लाइन आयोजनाको पावर हाउसदेखि खोरिया हुँदै सोलु कोरिडोरको सबस्टेशन तिङ्लामा जोडिएको छ ।अयोजनाको विद्युत् गृह सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पुमा निर्माण गरिएको छ । परियोजनाको निर्माण लागत करिब २ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
४७ आयोजनाको बिजुली थपिँदै
चालू आर्थिक वर्ष नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा ४७ नयाँ विद्युत् आयोजना थपिने भएका छन् । विद्युत् विकास विभागका चालू आर्थिक वर्षको अहिलेसम्म १० वटा आयोजनाले विद्युत् उत्पादन थालिसकेका छन् ।
कात्तिक मसान्तभित्र थपिएको यी १० आयोजनाले १२७.६८ मेगावाट उत्पादन थालिसकेका हुन् । उत्पादन थालिसकेका यी १० र यसै वर्षभित्र उत्पादन सुरु गर्ने तयारी गरिरहेका ४७ गरी चालू आर्थिक वर्षमा ५७ वटा आयोजनाको ८११.८६ मेगावाट विद्युत् प्रणालीमा आबद्ध हुने देखिएको छ ।
यीमध्ये तीन सौर्य विद्युत् आयोजना हुन् भने बाँकी जलप्रवाही जलविद्युत् आयोजना छन् । मंसिर लागेसँगै २५ मेगावाटको अप्पर दोर्दीले पनि परीक्षण उत्पादन सुरु गरेको छ ।
यसबाहेक बागलुङको कालङ्गा (१५ मेगावाट), पर्वतको मध्यमोदी (१८ मेगावाट) ले यही महिना परीक्षण उत्पादन गर्ने भएका छन् । प्राधिकरणका अनुसार मंसिरभित्रै चार आयोजनाबाट ६७ मेगावाट विद्युत थप हुँदै छ । यीमध्ये लमजुङमा रहेको २५ मेगावाटको अप्पर दोर्दी ए आयोजनाले परीक्षण उत्पादन थालिसकेको छ ।
पुसमा १० मेगावाटको मार्कीगाड, ४.७२ मेगावाटको अप्पर पिलुवा, ४.५५ मेगावाटको अपर माछाखोलाले व्यावसायिक उत्पादन थाल्ने तयारीमा छन् । माघमा वर्षभरिकै धेरै एकै पटक २४४.२६ मेगावाट क्षमताका आयोजनाले व्यावसायिक विद्युत उत्पादन गर्ने योजना विद्युत विकास विभागमा पेस गरेका छन् ।
८६ मेगावाटको सोलुखोला (दूधकोसी), ५४ मेगावाटको सुपरदोर्दी, ४४ मेगावाटको सुपरमादी, ३८ मेगावाटको अप्पर कलगागाडलगायत नौ जलविद्युत् आयोजना पनि माघमै विद्युत उत्पादन थाल्ने योजनामा छन् ।
फागुन भरमा नेपालमा विद्युतको जडित क्षमता ८४.३ मेगावाट थप हुने छ । थपिने आयोजनामा ३३.४ मेगावाटको लिखु–२, १० मेगावाटको तल्लो पिलुवा, १४ मेगावाटको मायाखोला, १८ मेगावाटको अप्पर सोलुखोलालगायत सातवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्दैछन् ।