विराटनगर । निर्वाचन सम्पन्न गराउन धेरै समय र ठूलो धनराशि खर्च हुन्छ। परम्परागत तरिकाले निर्वाचन प्रक्रिया सञ्चालन हुँदा छिटो र छरितो नहुनुका साथै कतिपय अवस्थामा विवाद पनि हुने गरेको छ ।
आधुनिक प्रविधि अपनाउन नसक्दा समय धेरै लाग्ने साथै ठूलो संख्यामा मत बदर हुने अवस्था पनि देखिएको छ ।
नेपालमा पछिल्लो ८ महिना नबित्दै तीनै तहको निर्वाचन भएका छन् । बैशाख ३० गते स्थानीय निर्वाचन भयो भने मङ्सिर ४ गते संसदीय निर्वाचन सम्मन्न भएको छ ।सबै निर्वाचनमा मत बदर हुने संख्या निकै पाइएको छ । धेरैवटा मतपत्र र झन्झटिलो मतदान प्रक्रियाका कारण बदर मत बढी हुने गरेको हो । यसका साथै मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा पनि असर परिरहेको पाइन्छ ।
विद्युतीय मतदान गराउन सके समयको बचत, जनशक्ति कम लाग्ने अनि बदर मत पनि लगभग शून्य हुने जानकारहरु बताउँछन् ।प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिजालका अनुसार १० वर्षअघि नेपालमा विद्युतीय मतदानको अभ्यास भएको थियो ।
भारतले नेपाललाई इलेकट्रोनिक भोटिङ मेसिन (इभिएम) दिएको थियो । तर यो प्रक्रिया सफल हुन सकेन । रिजालका अनुसार इभिएमले ६४ वटाभन्दा बढी दल र उम्मेदवार अनि चुनाव चिह्नलाई ‘सपोर्ट’ नगर्ने अनि धेरै ठाउँमा मतदान गर्न नमिल्ने भएकाले समस्या परेको थियो ।
नेपालमा प्रत्यक्ष र समानुपातिकको निर्वाचन हुन्छ । यस्तो प्रणालीले गर्दा मेसिन प्रभावकारी नभएको समेत पाइएको छ । त्यसबेला दलको सङख्या १२० भन्दा बढी भएकाले मेसिन उपयोग हुन सकेन ।
यस्ता समस्याको समाधान गर्न नेपालकै निर्वाचन प्रणालीमा आधारित मेसिन पनि बनाइयो । राम र लक्ष्मण रिजाल दाजुभाइले नेपालको मतदान प्रणालीलाई सपोर्ट गर्ने विदेश पनि निर्यात गर्ने हिसाबले मेसिन बनाएका थिए ।
बनाइसकेर निर्वाचन आयोगका पदाधिकारीलाई देखाए । निर्वाचन आयुक्तहरुले प्रयोग गर्न माने पनि उनीहरुले राजनीतिक दललाई देखाउने भने । त्यसपछि दलका विभिन्न भातृ संगठनहरुको चुनावमा प्रयोग गर्न आग्रह गरे ।
उनीहरुले बनाएका मेसिन प्रयोग गरी हालसम्म १०३ वटा संस्थाको चुनाव सम्पन्न भइसकेको छ । रिजालले भने ‘तर अहिलेसम्म नेपाल सरकारले प्रयोग गरेको छैन ।’
हालै राष्ट्रिय अपाङ्ग महासंघको चुनाव पनि उक्त मेसिन प्रयोग गरी सम्पन्न गरिएको थियो । १ सय ५० जना दृष्टिबिहीन र अरु प्रकृतिका अपांगता भएकाहरु समेत गरी ६ सय ९० जनाले मतदान गरेको रिजालले सुनाए ।
निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार विद्युतीय प्रणालीमा निर्वाचन गरियो भने सुरुवाती अवस्थामा ठूलो खर्च हुन्छ ।
भोटिङ मेसिन किन्ने खर्च, व्यवस्थापन खर्च र दक्ष जनशक्तिमा खर्च हुने उल्लेख गर्दै उनले यस बारेमा अध्ययन गर्नुपर्ने बताए । निर्वाचन आयोगले विद्युतीय प्रणालीमा जान पहल गरेको तर दल र सरकारले आफ्नो सक्रियता देखाउनु पर्ने उनको भनाइ छ ।
मङसिर ४ को निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार मतदातामध्ये १ करोड १० लाख मतदाताले मतदान गरेका थिए । ५ लाखको हराहारीमा मत बदर भएको अर्यालले जानकारी दिए ।
उनका अनुसार नेपाल सरकारले १० अर्ब रुपयाँ निर्वाचनका लागि छुट्याइ दिएकोमा खर्चको पूर्ण विवरण आइसकेको छैन ।
भारतमा पहिलोपल्ट सन् १९८२ मा केरेलाको स्थानीय निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिएको थियो । त्यसमा सफलता हासिल भएपछि राजस्थानको विधान सभामा सन् १९९८ मा फेरि प्रयोग गरिएको थियो ।
त्यसपछि सन् २००४ चारमा लोक सभाको निवार्चनमा प्रयोग गर्दै अहिलेसम्म आइसक्दा प्रयोगमा छ ।
यसको प्रयोगका क्रममा भारतमा निर्वाचनमा पराजित पार्टीले ह्याकिङ भएको भन्दै विरोध गरेका थिए । तर त्यस कुराको पुष्टि हुन सकेको छैन ।
भारतलगायत अर्जेन्टिना, अष्ट्रेलिया, बंगलादेश, ब्राजिललगायत मुलुकले विद्युतीय मतदानका लागि मेसिन प्रयोग गर्दै आएका छन् भने केही देशमा विवादका कारण प्रयोग स्थगित गरिएको थियो ।
(प्रशिक्षार्थी)