विराटनगर । हाम्राे पहिलो पाइला विराटनगरले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न विद्यार्थीलक्षित ‘न्यानो माया’ अभियान सुरु गरेको छ ।

अभियान अन्तर्गत पाइलाले विराटनगरको ट्राफिक चौकमा शनिबार चिया बिक्री गर्दै आर्थिक संकलन गरेकाे छ ।

‘तपाईँको चियापान बालबालिकालाई न्यानोपन’ शीर्षकमा आयोजित उक्त चिया बिक्री कार्यक्रममा जम्मा भएको रकम आर्थिक रुपमा विपन्न सामदुयिक विद्यालयका विद्यार्थीलाई जाडोमा आवश्यक पर्ने न्यानो कपडा प्रदान गर्न खर्चिने बताइएको छ ।

विगत पाँच वर्षदेखि सक्रिय रहेको संस्थाले विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको पाइलाका अध्यक्ष प्रदिपजङ्ग कार्कीले एएमजी टाइम्सलाई बताए ।

‘हिजो भएको चिया बिक्रीबाट नौ हजार पाँच सय संकलन गरिएको छ’ कार्कीले भने, ‘संस्थाले अर्काे स्थानमा पनि चिया बिक्री गर्ने कार्यक्रम गर्ने विषयमा छलफल गरिरहेको छ । दुवै स्थानमा संकलन गरिएको रकम एकमुष्ट आवश्यक सामग्री खरिद गर्न प्रयोग गर्नेछौँ ।’

पाइलाले सामुदायिक विद्यालय छनोट गरेर पुस ११ गते जाडोमा आवश्यक पर्ने सामग्री विद्यार्थीलाई वितरण गर्ने बताएको छ ।

संस्थाका महासचिव ओम रावतका अनुसार हालसम्म ३० हजार संकलन भइसकेको छ ।

‘अभियानका लागि नजिकका चिनेका साथीभाइले सहयोग गर्नुभएको छ’ महासचिव रावतले भने, ‘हालसम्म ३० हजार नगद संकलन भइसकेको छ ।’

पाइलाले यसअघि सामुदायिक विद्यालयका विद्यार्थीलाई ‘शिक्षा अभियान’अन्तर्गत स्टेशनरी सामान वितरण गरिसकेको छ । यसबाहेक अभियानले बाढी पिडितलाई पनि सहयोग गरेको छ ।

समाजमा रहेका कुरिती, कुसंस्कृतीका विरुद्ध काम गर्ने उद्देश्य लिएको संस्थामा युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको छ ।

तस्बिरहरू

420
Shares
२५ मंसिर २०७९, आईतवार १८:४४