विराटनगर ।  प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दुईवटा अलगअलग मुद्दाका फरार प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय महेन्द्रकुमार कामत र सुनसरीको धरान उपमहानगरपालिका–३ का २८ वर्षीय सिजन राईलाई पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । उनका अनुसार कामत लेनदेन विगो मुद्दा र राई औषधि अनुचित प्रयोग तथा दुरुपयोग मुद्दाका फरार प्रतिवादी हुन् ।

अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नगरिकन उनीहरु फरार बनेका थिए । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कामतलाई विगो बराबरको रकम लिएर छाडिदिएको छ । कामतलाई मोरङ अदालतले गत असोज ९ गते दोषी ठहर गरेको थियो ।

राईलाई जिल्ला अदालत सुनसरीले गत असार २० गते दोषी ठहर गर्दै ११ महिना ३ दिन कैद तथा १० हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो । प्रहरीले पक्रेर बुझाएपछि सुनसरी अदालतले राईलाई कैद सजाय भुक्तानका लागि झुम्का कारागार चलान गरेको छ ।

91
Shares
२३ मंसिर २०७९, शुक्रबार १६:३३