आक्रमणमा घाइते एम्बुलेन्स चालक विराटनगर–७ का ३७ वर्षीय चन्दन मुखिया ।
विराटनगर । मोरङको कटहरीमा बिहीबार राति युवाहरुको एउटा समूहले एम्बुलेन्स चालकमाथि आक्रमण गरेको छ ।गर्भवतीलाई अस्पताल ल्याउँदै गरेको सामुदायिक समाज उत्थान केन्द्रको को १ च ४०७९ नम्बरको एम्बुलेन्सका चालकमाथि कटहरी गाउँपालिका–२ को नहरनजिक राति ८ः३० बजेतिर आक्रमण भएको हो । एम्बुलेन्स रोकेर चालक विराटनगर महानगरपालिका–७ का ३७ वर्षीय चन्दन मुखियालाई आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा जहदा गाउँपालिका–४ बाट गर्भवतीलाई राखेर प्रसूतिका लागि विराटनगरस्थित कोसी अस्पतालतर्फ ल्याइँदै थियो । कोसी एम्बुलेन्स चालक संघका अनुसार आक्रमणबाट चालक मुखियाको आँखालगायतका अंगहरुमा चोट लागेको छ । सामान्य अवस्थाका मुखियाको कोसी अस्पतालमै उपचार भयो ।आक्रमणकारीले तोडफोड गरेर एम्बुलेन्समा समेत क्षति पुर्याइदिएका छन् । तोडफोडबाट एम्बुलेन्सको सिसा फुटेको संघले जनाएको छ । मदिरा सेवन गरेर सडकमा १०/१२ जनाको समूहमा रहेका युवाले एक्कासि एम्बुलेन्स रोकेर आफूमाथि आक्रमण गरेको चालक मुखियाले बताए ।
उनका अनुसार सुरुमा १ जनाले मुक्का प्रहार गरे । त्यसपछि अरुले पनि मुक्का तथा लात्ताले आक्रमण गर्न थालेको र केही युवाले भने छुट्याएको मुखियाको भनाइ छ । आफू असुरक्षित भएपछि एम्बुलेन्स लिएर भाग्दै वडा प्रहरी कार्यालय हाटखोलाको शरणमा पुगेको उनले बताए ।तत्कालै घटनास्थलमा खटिएको प्रहरीले आक्रमणकारीलाई भने फेला पार्न सकेन । घटनास्थलबाट उनीहरु भागिसकेका थिए । बिना कारण एम्बुलेन्स रोकेर आक्रमण गरिएको मुखियाको भनाइ छ । दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै उनले शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् ।
कोसी एम्बुलेन्स चालक संघले घटनाप्रति आपत्ति जनाएको छ । संघका अध्यक्ष अशोक यादवले प्रसव पीडाले छटपटाइरहेकी गर्भवतीलाई अस्पताल लैजाँदै गरेको एम्बुलेन्सका चालकमाथि आक्रमण हुनु निन्दनीय भएको बताउँदै घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग गरेका छन् । यसरी नै आक्रमण भएर चालक असुरक्षित हुने हो भने एम्बुलेन्स सेवा बन्द गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी यादवले दिए ।
दोषीमाथि कारबाही नभए सेवा बन्द गर्ने चेतावनी एम्बुलेन्स चालकहरुले दिएका छन् । बिरामीलाई समयमै उपचार पाउने वातावरण बनाउने एम्बुलेन्स चालक आफैँ असुरक्षित हुनु दुःखद् भएको अध्यक्ष यादवले बताए । उनले एम्बुलेन्स चालकको सुरक्षाको ग्यारेन्टी हुनपर्ने र आक्रमणका घटना दोहोरिन नदिन स्थानीय प्रशासनले कडा कदम चाल्नुपर्ने माग राखे ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले कटहरी–३ का २७ वर्षीय अजय कामतलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले एम्बुलेन्स चालकमाथि आक्रमण गरेको आशंकामा १ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
सडकमा बसिरहेका बेला एम्बुलेन्सले ठक्कर दिन खोजेको भन्दै युवाहरुले सुरुमा चालकसँग विवाद गरेको र त्यसपछि घटना भएको पाइएको उनको भनाइ छ ।