काठमाडाैं । निर्वाचनको मत गणना सकिएसँगै नयाँ सरकार गठनको दौडधुप तीव्र भएको छ । खासगरी प्रमुख राजनीतिक दलहरु आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी हिसाब–किताबमा जुटेका छन् । आपसी भेटघाट, छलफल र वार्ता बढेका छन् ।

कुल दुई सय ७५ सांसदमा प्रत्यक्षबाट १६५ जना निर्वाचित भइसकेका छन् भने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जनाको नाम राजनीतिक दलहरुले भोलि (शनिबार) सम्ममा बुझाइ सक्नेछन् । यो सँगै नयाँ सरकारको नेतृत्व कसले गर्ला, कुनकुन दल मिलेर सरकार बन्छ भन्ने आमचासो पनि बढ्दै गएको छ ।

यस पटकको संसद्मा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व भएको छ भने पाँच जना स्वतन्त्र सांसदहरुले पनि चुनाव जितेका छन् । यसरी हेर्दा नयाँ सरकार बनाउनका लागि धेरै चुनौती र उति नै संख्यामा अवसर पनि देखिएको छ ।

नयाँ सरकार गठन हुने अंकगणित

संसद्मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी १२ वटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ । ५ जना स्वतन्त्र सांसदहरुले आ–आफ्नो क्षेत्रबाट चुनाव जितेका छन् ।

समानुपातिकको सिट बाँडफाँटलाई हेर्दा प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकमा ३२ सिट ल्याएको छ । यसले कांग्रेसको कुल सांसद संख्या ८९ पुर्याएको छ । त्यस्तै एमालेको प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट पुगेको छ । माओवादी केन्द्रको १८ सिट प्रत्यक्ष र १४ सिट समानुपातिक गरी ३२ जना छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट हात पारेको छ । उसले समानुपातिकमा १३ थपेर २० सिट प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट, जसपाले प्रत्यक्षमा ७ र समानुपातिक ५ गरी १२ सिट र जनमतले प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी जम्मा ६ सिट हात पारेको छ । यिनै सात पार्टीले थ्रेस होल्ड कटाएका छन् र राष्ट्रिय पार्टीको मान्यता पनि पाएका छन् ।

अन्य ५ पार्टीले थ्रेसहोल्ड कटाउन सकेका छैनन् । समानुपातिकबाट सिट नपाए पनि एकीकृत समाजवादीको १०, नागरिक उन्मुक्ति पार्टीको तीन, लोकतान्त्रिक समाजवादी पार्टीको चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको एक–एक र स्वतन्त्र सांसदको संख्या पाँच रहेको छ ।

अंक गणित हेर्दा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसको कुल सिट संख्या ८९ छ । स्वभाविक रुपमा संसद्को पहिलो ठूलो दलले सरकारको दाबी गर्नेछ र आफ्नो नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनेछ । त्यसो त विगतमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले गठबन्धन बनाएर नै निर्वाचनमा गएका हुन् र निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

सोमबार मात्र गठबन्धनको बैठक बसेर गठबन्धनलाई निरन्तरता दिने सहमतिसमेत भइसकेको अवस्थामा पुनः सरकार गठन गठबन्धनकै हुनसक्ने अनुमान गर्न सकिन्छ । यद्यपी यसो हुँदा पनि गठबन्धनलाई सहज बहुमत पुग्दैन ।

कांग्रेसको नेतृत्वमा पहिलो विकल्प

कांग्रेसको ८९, माओवादी केन्द्रको ३२, एकीकृत समाजवादीको १०, लोकतान्त्रिक समाजवादी पार्टीको ४ र राष्ट्रिय जनमोर्चाको १ सिट गरी जम्मा एक सय ३६ सिट पुग्छ । सरकार गठनका लागि चाहिने बहुमत संख्या १३८ हो । यो गठबन्धन बनाउँदा २ सिटको अपुग देखिन्छ । यसमा स्वतन्त्रबाट निर्वाचित दुई सांसदलाई समावेश गराउन सकियो भने बहुमत पुग्छ र सरकार बनाउन सकिन्छ ।

कांग्रेसको नेतृत्वमा दोश्रो विकल्प

कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी मिलेको खण्डमा एक सय ६५ सिट संख्या पुग्छ । यसो हुँदा बहुमतको सरकार बन्नसक्छ ।

कांग्रेसको नेतृत्वमा तेश्रो विकल्प

नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मिलाउँदा एक सय ५२ सिट पुग्छ । सरकारको गठनको यो अर्को सम्भावना हो ।

कांग्रेसको नेतृत्वमा चौथो विकल्प

नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरेर १४३ सिट पुग्छ । यसो हुँदा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई बाहिर राखेर कांग्रेसले सरकार बनाउन सक्छ ।

कांग्रेसको नेतृत्वमा पाँचौं विकल्प

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको १४३ सिट पुग्छ । यसलाई पनि नयाँ सरकार गठनको अर्को सम्भावनाको रुपमा लिन सकिन्छ । माथि उल्लेख गरिएका गठबन्धनहरुमा स्वतन्त्र सांसदहरुको पनि संलग्नता हुनसक्ने सम्भावना पनि रहन्छ ।

एमालेको नेतृत्वमा पहिलो विकल्प

दोस्रो दल बनेको एमाले पनि सरकार गठनको लागि अंक गणित जुटाउन कस्सिएको छ । कतिपय नेताहरुले आफ्नो पार्टीको सरकारमा दाबी रहेको पनि सार्वजनिक अभिव्यक्ति दिएका छन् । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी गर्दा १३४ सिट पुग्छ । सरकार गठनका लागि ४ सिट अपुग हुँदा स्वतन्त्रहरुको सहयोग लिनुपर्ने हुन्छ ।

एमालेको नेतृत्वमा दोस्रो विकल्प

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी मिल्दा १४६ संख्या पुग्छ । जुन संख्याले सहजै सरकार गठन गर्न सकिन्छ ।

एमालेको नेतृत्वमा तेस्रो विकल्प

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी मिलाउँदा १३४ सिट पुग्छ जहाँ फेरि ५ सिट स्वतन्त्र सांसदहरुको सहयोग अनिवार्य हुन्छ ।

एमालेको नेतृत्वमा चौथो विकल्प

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन गर्दा १४५ सिट संख्या पुग्छ र सरकार गठन गर्न सकिन्छ ।

कांग्रेस र एमालेको संयुक्त सरकार

सरकार गठनको लागि अत्यन्तै सहज विकल्पको रुपमा कांग्रेस र एमालेको सहकार्य हो । दुवै पार्टी मिलेर अघि बढे एक ६७ सिट पुग्छ जसको मद्दतमा सहजै सरकार बनाउन सकिन्छ ।

यद्यपी सङ्घीय सरकार बनाउँदै गर्दा शक्तिशाली पदहरु राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र राष्ट्रियसभा उपाध्यक्ष जस्ता पदहरुमा पनि भागबण्डा मिलाउनुपर्ने चुनौतीमा दलहरु हुनेछन् । उता सातै प्रदेश सरकार गठन गर्न सहज हुनेगरी पनि सङ्घीय गठबन्धन गर्न दलहरु अग्रसर हुन्छन् । यसले गर्दा आगामी दिनमा कुन–कुन पार्टी मिलेर संयुक्त सरकार बनाउनेछन् भन्ने प्रतिक्षाको विषय बनेको छ ।

63
Shares
२३ मंसिर २०७९, शुक्रबार १३:५०