निर्वाचन परिणाम आइसक्दा आम मतदातामा पनि कस्तो सरकार बन्ला, कुन कुन दल मिलेर अघि बढ्लान् अनि को प्रतिपक्षमा बस्ला भन्ने चासो व्याप्त बनेको छ ।
निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार सात प्रदेशका २२० समानुपातिक सदस्यतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट सङ्ख्या घोषणा गरी पत्राचार गरिएको छ।सत्ता साझेदार चार दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी सङ्घीय सरकारसँगै प्रदेशमा पनि गठबन्धनकै सरकार बनाउने तयारीमा जुटेका छन्।
प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टीसहितका राजनीतिक दलहरू पनि सरकार गठबन्धन र सहभागिताका सन्दर्भमा छलफलमा जुटिरहेका छन् तर एकल बहुमत कुनै प्रदेशमा पनि कसैको नरहेका कारण सरकार गठनका विकल्पमा दलहरू लागेका छन्।प्रदेश १ को प्रदेश सभा ९३ सदस्यीय छ। सत्ता साझेदार दलहरूले ४६ सिट जितेका छन्। कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सिट जितेको छ।
एमालेले प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी ४० सिट जित्दा माओवादी केन्द्रले प्रत्यक्षमा नौ र समानुपातिक चार गरी १३ सिट जितेको छ।
एकीकृत समाजवादीको प्रत्यक्षमा तीन र समानुपातिकमा एक सिट जित्दा राप्रपाले प्रत्यक्षमा दुई र समानुपातिकमा चार सिट जितेको छ। जसपाले समानुपातिकमा एक सिट जितेको छ।
प्रदेश १ मा सत्ता गठबन्धनको ४६ सिट छ। उसलाई सरकार निर्माणका लागि एक सिट मात्रै आवश्यक छ। त्यसका लागि जसपा वा राप्रपाको सहयोग लिनुपर्ने हुन्छ।
एमालेले पनि सरकार बनाउन राप्रपा र जसपाको सहयोग लिनुपर्ने हुन्छ तर एमालेले माओवादी केन्द्रको सहयोगमा सरकार गठन गरेमा अरू पार्टीको सहयोग लिनुपर्ने छैन।
कस्तो छ मधेश प्रदेशको अवस्था ?
प्रदेश १ सँग जोडिएको मधेश प्रदेशमा पनि सरकार निर्माणको चासो बढेको छ । उक्त प्रदेशमा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सदस्यीय प्रदेश सभा छ ।
मधेश प्रदेशमा अघिल्लो पटक पहिलो दल रहेको जसपा यस पटक तेस्रो दल बनेको छ। एमालेले प्रत्यक्ष १५ र समानुपातिक आठ गरी २३ सिट जित्दा कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा नौ गरी २२ सिट जितेको छ।
जसपाले प्रत्यक्षमा नौ र समानुपातिकमा सात गरी १६ सिट, लोसपाले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ सिट जित्दा जनमत पार्टीले प्रत्यक्षमा छ र समानुपातिकमा सात गरी १३ सिटमा विजय हासिल गरेको छ।
माओवादी केन्द्रले प्रत्यक्ष चार र समानुपातिक चार गरी आठ, एकीकृत समाजवादीले प्रत्यक्ष चार र समानुपातिकमा तीन गरी सात, नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा एक, नेपाल सङ्घीय समाजवादी पार्टीले एक, राप्रपाले एक र छ जना स्वतन्त्र उम्मेदवार प्रत्यक्षतर्फ विजयी भएका छन्।
सरकार गठन गर्न बहुमतका लागि आवश्यक ५४ सांसदका लागि तीन वा तीनभन्दा बढी दल मिल्नुपर्ने देखिन्छ। सत्ता गठबन्धनले लोसपा र जनमत पार्टीको साथ लिएमा सरकार गठन हुन सक्छ।
एमालेले सरकार गठन गरेमा जसपा, लोसपासँगै माओवादी केन्द्र वा जनमत पार्टी र स्वतन्त्रको साथ लिनुपर्नेछ। जसपाले सरकारको नेतृत्व गर्न चाहेमा एमालेसँगै अन्य तीनभन्दा बढी दलको सहयोग लिनुपर्नेछ।