विश्वकपको इतिहास हेर्ने हो भने प्रायः विश्व फुटबलका महान् स्ट्राइकरले गोल्डेन बुट जितेको पाइन्छ। सन् १९८२ मा गोल्डेन बुटको सम्मान पहिलो पटक दिइएको थियो ।
समान गोलका कारण खेलाडीलाई छुट्याउन नसकेमा अन्य गोलमा सहयोगीको भूमिका सबैभन्दा बढीले जसले निर्वाह गरेको छ, उसैलाई गोल्डेन बुटको सम्मान दिइन्छ।यसपछि पनि अझै एकभन्दा बढी दाबेदार भएमा कम समय मैदानमा बिताएर बढी गोल गरेका खेलाडीलाई गोल्डेन बुटको योग्य ठानिन्छ।
यसपालि पनि प्रिक्वाटरफाइनल सकिँदा प्रतिष्ठित गोल्डेन बुटको होडमा केही खेलाडी देखिसकेका छन्। जसमा फ्रान्सका स्ट्राइकर किलियन एमबापेको नाम सबैभन्दा अगाडि छ।२३ वर्षीय एमबापेले क्वाटरफाइनलअघि नै कतार विश्वकपमा प्रभाव पारिसकेका छन् । एमबापेले चार खेलमा पाँच गोल गर्नुका साथै दुई ‘असिस्ट’ पनि गरेका छन् ।
एमबापेले आफ्नो गोल सङ्ख्या अझ वृद्धि गर्ने अपेक्षा गरिएको छ। हालका लागि उनी नै गोल्डेन बुटका प्रमुख दाबेदार हुनुहुन्छ।गोल्डन बुटको होडमा एमबापेलाई अर्जेन्टिनाका लियोनेल मसी, नेदरल्यान्ड्का कोडी गाक्पो र इङ्ग्ल्यान्डका मार्कस र्यासफर्डले तीन–तीन गोल गरेर पछ्याइरहेका छन् ।
नेदरल्यान्ड्सका कोडी गाक्पो यस विश्वकपमा चम्किएका फरवार्ड हुन् । पीसभी आइन्डहोनका फरवार्डले समूह चरणका तीन खेलमा गोल गरेका थिए ।
जारी विश्वकपमा नेदरल्यान्ड्सका लागि तीनै खेलमा पहिलो गोल गाक्पोले नै गरेका हुन् ।
गाक्पोको टिम नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्दै छ। अर्जेन्टिनाका कप्तान मेसी र गाक्पोबीच सो खेलमा आआफ्नो गोल अन्तर बढाएर गोल्डेन बुटको अझ नजिक पुग्ने प्रतिस्पर्धा पनि हुनेछ।
यस संस्करणलाई मेसीको अन्तिम विश्वकप मानिएको छ। मेसीले आफ्नो सम्भवतः अन्तिम विश्वकपमा गज्जबको प्रदर्शन पनि गरिरहेका छन् ।
मेसीले चार खेलमा तीन गोल गर्नुका साथै एक असिस्ट गरेका छन् । पोल्यान्डविरुद्धको खेलमा पेनाल्टीमा गोल गर्न नचुकेको भए मेसीको सम्भावना थप बलियो हुने थियो।
सन् २०१४ मा मेसीले विश्वकपको सर्वश्रेष्ठ खेलाडी घोषित भएर गोल्डेन बल जितिसकेका छन् ।
विश्वकपमा इङ्ग्ल्यान्डका स्ट्राइकर शानदार लयमा छन्। त्यसैले समूह चरणमा तीन गोल गरिसकेका फरवार्ड र्यासफर्डले सेनेगलविरुद्ध पहिलो रोजाइमा स्थान पनि पाएनन् ।