दुईटा गल्ती दोहोर्याइरहे
एकथरी भन्थे– पुरूषहरु उच्च हुन्
पुरूषहरू भन्या महादेव र विष्णुका सन्तान हुन्
पुरूषहरूलाई सबैले मान्नुपर्छ!
अर्काथरी भन्थे– महिला उच्च हुन्
महिलाहरू भन्या देवी र सरस्वतीका रूप हुन्
महिलाहरूलाई श्रेष्ठ ठान्नुपर्छ!
अलि पछि अर्काथरी मान्छेहरू
झनै कडा भएर निस्कन थाले
हुलै बाँधेर पो कराउन थाले
त्यो हुलमा महिला र पुरूष दुवै हिँड्न थाले!
तिनीहरूलाई महिलावादी भनिन थालियो
उनीहरू सदन र सडकमा आएर कुर्लिन थाले
महिला र पुरूष भनेका त समान हुन्
अझ झनै ठूलो स्वर गरेर भन्न थाले–
सबै स्थानमा समान हक अधिकार चाहिन्छ!
अनि ज्यामिती र गणितका जोड घटाउ पनि गर्न सक्छन्
पुरूषका झैँ मन बाँध्न पनि सक्छन्, मुलुक हाँक्न पनि सक्छन्
आवश्यक परे मंगल ग्रह र चन्द्रमामा एक्लै पुग्न पनि सक्छन्
समयले माग्यो भने लिङ्ग परिवर्तन गरेर पुरूष बन्न पनि सक्छन्!
र, उनीहरूले निष्कर्ष निकाले– महिला र पुरूष समान हुन्!
धेरै समय त होला पनि भनेर मानियो
तर बिस्तारै पढ्दै, बुझ्दै, भोग्दै जाँदा
यिनीहरूको वास्तविक रूप अर्कै भेटियो
न त पुरूषभन्दा महिला उच्च
न त महिलाभन्दा पुरूष उच्च
न त महिला र पुरूष बराबर नै
न त साट्न/साटिन मिल्ने सराबर नै
न त पिताले माताको ठाउँ लिन सक्ने
न त माताले पिताको भूमिका निर्वाह गर्न सक्ने
चामल र आगो मात्रै लिएर
के गरी पाक्ला र भात?
यदि पानीले दिएन भने साथ!
यहाँ चामल ठूलो कि पानी?
भनेर सोध्दैथिन् कान्छी नानी!
हे र कान्छी नानी,
यहाँ न त पानी सानो
न त चामल नै!
न त चामल ठूलो
न त पानी नै!
न त चामल र पानी बराबर नै!!
न त पानी बेगर भात पाक्छ
न त बेगर चामल नै!
महिला र पुरूषलाई चामल र पानी जस्तै ठाने हुन्छ!
एउटै पजलका दुईवटा अभिन्न टुक्राहरू माने हुन्छ!
झापा, हाल- टोरन्टो, क्यानाडा