तस्बिरः हाम्राे बुटिक
रस्मी थापाविवाह बन्धनमा बाँधिनका लागि धेरैको रोजाइमा पर्ने महिना हो मङ्सिर । वैवाहिक लगनका हिसाबले पनि मङ्सिरलाई विवाहको लागि उचित महिनाका रुपमा लिइने गरिन्छ । मङ्सिर लागेसँगै धेरै जोडी लगनगाँठो कस्ने योजनामा हुन्छन् ।
आजभोलि वैवाहिक समारोहमा बेहुला र बेहुली कस्तो पहिरनमा सजिएका हुन्छन् भनेर धेरैको नजर परिरहेको हुन्छ । नेपाली समाजमा विवाहलाई सुन्दर, पवित्र र सुखद सम्बन्धको सुरुवातको रुपमा लिइन्छ । यस्तो सु–अवसरमा दाम्पत्य जीवन शुभारम्भ गर्न लागेका प्रेमिल जोडीलाई उत्कृष्ट, आकर्षक, सुहाउँदिलो र फेशनेबल हुने चाहना स्वभाविक हो ।समयानुकुल फेशन र संस्कृतिलाई सम्मिश्रण गर्दै आजभोलि टेलर, बुटिकमा विवाहका पहिरन तयार गरिने गरिन्छ । मानिसको लगानी, रोजाइ, आवश्यकता र संस्कृति सुहाउँदो पहिरन बनाउन मङ्सिरमा महिनामा फेशन डिजाइनरलाई भ्याइनभ्याइ हुन्छ ।
जीवनको महत्वपूर्ण क्षणका रुपमा लिइने विवाहमा सजिन दुलहीले कस्तो पहिरन लगाउने भन्ने कुराले धेरै द्वविधा हुने गरेको छ । कपडा र डिजाइनका विषयमा निर्णय लिन दुलहीहरूका लागि सबैभन्दा कठिन कार्य भएको छ । विवाहमा अहिले कस्तो पहिरन ट्रेन्डिङमा छ ? उचाइ र वर्ण अनुसार कस्तो पहिरन उचित हुन्छ ? यहीँ विषयको परिधिभित्र रहेर हामीले विराटनगरस्थित ‘हाम्रो बुटिक’का डिजाइनर समिता नेपालीसँग गरेको कुराकानीको सम्पादित अंशःविवाहमा दुलहीको लागि अहिले कस्तो पहिरन ट्रेन्डिङमा छ ?
दुलहीका लागि सारी पहिलो रोजाइमा पर्छ र यो ट्रेन्ड कहिल्यै पनि पुरानो हुँदैन जस्तो लाग्छ । त्यसैले धेरैले सारी नै रुचाउने गर्छन् । केहीले लेहङ्गा पनि रुचाउने गर्छन । लेहङ्गा चोली, गाउन, ह्यान्डवर्क बुटिक साडी, चौबन्दी चोलो अहिले धेरैको रोजाइमा परिरहेका पहिरन हुन् ।
जाडो मौसममा दुलहीले कस्तो पहिरनलाई प्राथमिकता दिने ?
संस्कृति, संस्कार र समुदाय अनुसार विवाह हुने समयमा भिन्नता रहन्छ । कसैले दिवा त कसैले रात्री लगनमा विवाह गर्ने परम्परा छ । गर्मी मौसममा आफूले भने जस्तै पहिरन लगाउन समस्या हुँदैन तर जाडोमा राति विवाह हुने अवस्था रह्यो भने पहिरनमा अलि बढी ध्यान दिन आवश्यक हुन्छ । सिल्क, जर्जेट, सिल्क–जर्जेट र भेल्भेटको पहिरनको प्रयोग गर्न सकिए जाडो छल्न सकिन्छ । अत्यधिक जाडो छ भने भेल्भेटको पहिरनको प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।
उमेरले दुलहीको पहिरनको डिजाइन भिन्नता हुनसक्छ ?
उमेर अनुसार डिजाइन नै फरक गर्नुपर्छ भन्ने हुँदैन तर उमेर अनुसार मानिसको रोजाइ फरक पाइन्छ । २० देखि २५ सम्मका दुलहीहरुले भारी रङ्गीचङ्गी रुचाउने गर्छन् भने त्यो भन्दा माथि उमेरकाले साधारण, आफूलाई सजिलो हुने पहिरन छनाेट गर्ने गर्छन् ।
दुलहीको लागि अहिले प्रचलनमा रहेको लेहङ्गा र सारीमध्ये कुनको प्रयोग बढी छ ?
अहिले धेरैले लेहङ्गा नै रुचाउने गर्छन् । सहजता लागि पनि लेहङ्गा नै दुलहीको प्राथमिकतामा पर्ने गरेको छ । लगाउन पनि सजिलो र छिटो हुने भएकाले लेहङ्गाको प्रयोग बढी छ ।
पहिरन खरिद गर्दा वा डिजाइन गर्दा दुलहीले कस्तो कुरामा ध्यान दिने ?
मानिसको वर्ण र आकार फरकफरक हुन्छ। त्यसैले पहिरन खरिद र डिजाइन गर्दा आफ्नो वर्ण र आकारमा पनि ध्यान दिनुपर्छ । दुलहीको शरीरको आकार ठूलो, मोटो छ भने सिल्कको प्रयोग नगर्दा उचित हुन्छ । सिल्क भारी र मोटो हुने भएकाले लगाउन सहज नहुन सक्छ । लगाउनै मिल्दैन भन्ने होइन तर असहज हुने गरी नलगाउन हामी सुझाव दिन्छौँ । लगाउनै पर्ने अवस्था आयो भने त्यसलाई सोही अनुसार डिजाइन गर्न सकिन्छ । दुलही पातली, दुब्ली हुनुहुन्छ भने वहाँले सिल्कको प्रयोग गर्न उचित हुने गर्छ ।
रुपरङ अनुसार पनि डिजाइन फरक हुन्छ ? वर्ण अनुसार कस्तो पहिरनलाई प्राथमिकता दिने ?
रुपरङ अनुसार डिजाइनमा खास फरक हुँदैन तर वर्ण अनुसार सबैलाई एउटै किसिमको पोसाकले सुहाउँदिलो हुन्छ भन्ने चाहिँ हुँदैन । त्यसैले आफ्नो वर्ण अनुसार पोसाकको रङमा ध्यान दिन बुद्धिमानी हुन्छ ।
वर्ण अनुसार कस्तो पहिरनको छनोट गर्दा राम्रो हुन्छ ?
दुलहीको वर्णले पनि पहिरन छनोटमा विशेष स्थान पाउने गर्छ । छालाको रङ अनुसारको पहिरन नहुँदा अनौठो, नमिलेको जस्तो देखिन्छ । त्यसैले आफ्नो वर्ण अनुसार नै पहिरन छनौट गर्दा दुलहीलाई सुन्दर र आकर्षक देखिन्छ ।
(प्रशिक्षार्थी)