काठमाडौं । यसपटकको निर्वाचन मतपरिणाम हेर्दा ठूला दलहरुले समानुपातिकतर्फ विगतमा भन्दा कम मत पाएका छन् । भरखरै खुलेका नयाँ दलले उल्लेख्य रुपमा मत पाएका छन् ।

२०७४ को निर्वाचनमा ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरेको नेकपा (एमाले) ले यसपटक समानुपातिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ मत पायो ।

२०७४ को तुलनामा एमालेको ३ लाख २७ हजार ८५३ मत घटेको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ भने समानुपातिक मतका आधारमा एमाले पहिलो बनेको छ ।

अघिल्लो चुनावमा भन्दा यसपटक धेरै मत बाँडिएकाले पहिलेभन्दा कम देखिएको नेकपा एमालेकी सचिव पद्मा अर्यालको भनाइ छ ।

प्रत्यक्षतर्फ पहिलो दल बनेको नेपाली कांग्रेस समानुपातिकमा २७ लाख १५ हजार २२५ मत प्राप्त गर्दै दोस्रो स्थानमा छ । कांग्रेसले २०७४ मा ३१ लाख २८ हजार ३८९ मत पाएको थियो । यसपटक ४ लाख १३ हजार १६४ मत कम आएको छ ।

कांग्रेस नेता रमेश लेखक भन्छन्, ‘नयाँ पुस्ताको थोरै गुनासो, थोरै असन्तुष्टि र केही नयाँ कुरा खोज्न थालेजस्तो देखिरहेको छ । त्यसैले पनि हामी पुराना पार्टीहरुले अलि गम्भीरपूर्वक यो विषयमा विवेचना र विश्लेषण गर्न जरुरी छ ।’

नेकपा माओवादी केन्द्रले २०७४ मा १३ लाख ३७ हजार २१ मत ल्याएको थियो । यसपटक ११ लाख ७५ हजार ६ सय ८४ मत ल्यायो, जुन अघिल्लोपटकको तुलनामा एक लाख ६१ हजार ३ सय ३७ ले कम हो ।

२०७४ मा चार लाख ७२ हजार दुई सय ५४ मत प्राप्त गर्न सफल भएको तत्कालीन राजपा र अहिलेको लोसपाले यसपटक थ्रेसहोल्ड नै कटाउन सकेनन् ।

अघिल्लोपटक ४ लाख ७० हजार २ सय १ मत ल्याएको जसपाले यसपटक ४ लाख २१ हजार ३९३ मत पायो । पुराना दलहरुको मत घट्दै जाँदा नयाँ दलहरुले भने उल्लेख्य मत प्राप्त गरेका छन् ।

६ महिनाअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जित्दा समानुपातिकमा ११ लाख ३० हजार ३ सय ४४ मत सहित १७ प्रतिनिधिलाई संसद प्रवेश गराउँदैछ ।

प्रत्यक्षमा एक सिट मात्रै जितेको जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत पाएर समानुपातिकमा ५ सिट पाउँदैछ ।

२०७४ मा थ्रेसहोल्ड नकटाएको राप्रपाले यसपटक समानुपातिकतर्फ पाँच लाख ८८ हजार ८ सय ४९ मत पायो । एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीले गठबन्धनको बलमा प्रत्यक्षतर्फ १० सिट हात पार्दा ३ प्रतिशत थ्रेसहोल्डसमेत कटाउन सकेन ।

63
Shares
२२ मंसिर २०७९, बिहीबार ११:५३