विराटनगर । भारतबाट उच्च शिक्षा पढ्न क्यानाडा गएकी एक भारतीय युवतीको हत्या भयो । उनको हत्याको खबरले पञ्जाबमा रहेको परिवार शोकमा डुबेको छ । शोकाकूल परिवार यतिबेला उच्च शिक्षा हासिल गर्न छोरीलाई क्यानाडा पठाएकामा पछुताएको छ ।

क्यानाडाको मिसिसागा गत शनिबार भारतको पञ्जाब मूल घर भएकी २१ वर्षीया पवनप्रीत कौरको हत्या भएको थियो । ग्यास स्टेशनमा एकजना आक्रमणकारीले गोली हानी उनको हत्या गरेका थिए ।

अवसरको खोजी गर्दै छोरी र आफूहरुले जीवनका कतिपय सपना पूरा गर्न क्यानाडा छनोट गरेको उल्लेख गर्दै उनीहरुले तर छोरीसँगै सपनाहरुको क्रूरतापूर्वक हत्या भएको जनाएका छन् ।

क्रेडिटभ्यू र ब्रिटानिया सडकको पेट्रो–क्यानाडा स्टेशनमा शनिबार राति करिब पौने ११ बजे उनीमाथि गोली चलाइएको थियो । प्रहरीका अनुसार आक्रमणका बेला उनी ग्यास स्टेशनमा रातिको सिफ्टमा काम गरिरहेकी थिइन् ।

कौरका आमाबुवाले बुधबार भारतको पञ्जाबबाट प्रतिक्रिया दिँदै आफन्त र सञ्चारमाध्यमका प्रतिनिधिसँग दुःख व्यक्त गरेका हुन् ।

उनीहरुले उच्च शिक्षा अध्ययन र राम्रो भविष्यको खोजीमा क्यानाडा आएकी छोरीको त्यसरी निर्ममतापूर्वक हत्या भएको खबरले आफूहरु शोक र पश्चातापको भुँमरीमा परेको बताएका छन् ।

कौरकी आमा जसवीर कौरले आफूहरु छोरीलाई क्यानाडा पठाएकामा पछुताइरहेको उल्लेख गरेकी छन् । ‘उनलाई हामीसँगै राख्नुपर्ने थियो’ जसवीरले भनेकी छन्, ‘सानै उमेरमा डिग्री लिन आफूबाट टाढा पठाउनुहुँदैन थियो ।’

पवनप्रीतका बुवा देविन्दर सिंकले छोरीले गुणस्तरीय शिक्षा पाउने र परिवारका अरु सदस्यहरु पनि उनीसँग क्यानडा आएर जोडिने आशामा रहेको उल्लेख गर्दै तर अब सबै कुरा सकिएको बताएका छन् ।

पवनप्रीतलाई १८ वर्षको उमेरमा अभिभावकले विद्यार्थी भिसामा क्यानाडा पठाएका थिए । भारतमा धेरैलाई आफ्ना सन्तान क्यानाडा पठाउने क्रेज रहेको जनाउँदै देविन्दरले आफूहरुले पनि त्यसै गरेको सुनाएका छन् ।

प्रहरीले हत्यामा संलग्नको खोजी गरिरहेको जनाएको छ । घटनास्थलमा राखिएको सीसी टिभीमा देखिएअनुसार आक्रमणकारीले कालो ज्याकेट, कालै जुत्ता, कालो पाइन्ट र सेतो पन्जा लगाएको देखिएको छ । सीसी टिभीको दृश्यमा ती व्यक्तिले चुरोट पिइरहेको पनि देखिएको छ ।

कौरलाई गोली प्रहार गरेपछि ती व्यक्ति क्रेडिटभ्यु रोडबाट पश्चिमतर्फ दौडिएर भागेको देखिएको छ । पवनप्रीतको हत्या किन भयो भन्ने हालसम्म खुलेको छैन ।

क्यानाडा विश्वका विभिन्न मुलुकका विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्दै आएका छन् । भारतबाट हजारौं विद्यार्थी क्यानाडा जाने गरेका छन् । नेपालबाट पनि वर्षमा दुई हजार विद्यार्थी क्यानाडा जाने गरेका छन् ।

पछिल्लो समय हत्याका घटना बढेको भन्दै क्यानाडामा रहेका नेपाली र भारतीय समुदाय त्रसित बनेका छन् ।

742
Shares
२२ मंसिर २०७९, बिहीबार ०८:०४