एक्स्पोमा उपकरण र प्रदेश १ का कृषिजन्य उत्पादनहरूको प्रदर्शनीका लागि छुट्टै पेभिलियन रहने छ । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि एक्स्पो आयोजना हुँदैछ ।
कृषकहरू तथा उपभोक्तालाई लक्षित गरी कृषिसम्बन्धी आधुनिक प्रविधि र उपकरणहरू पनि प्रदर्शनीमा राखिने आयोजक समितिले जनाएको छ । प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले एक्स्पोमा आउने कृषकहरूलाई कृषिका आधुनिक प्रविधिको बारेमा जानकारी दिइने बताए ।उनले विश्वमा आधुनिक प्रविधिहरू भित्रिएको तर, नेपाली कृषकहरूले यस्ता प्रविधि र उपकरणबारे जानकारी नपाइरहेका कारण एक्पोमा कृषकहरूलाई नै लक्षित गरी छुट्टै पेभिलियनको व्यवस्था गरिएको बताए ।
एक्स्पोमा प्रदेश सरकार कृषि मन्त्रालयले पनि २० वटा स्टल राख्ने जनाएको छ । मन्त्रालयकी खाद्य अनुसन्धान अधिकृत विमला पोखरेलले कृषिका आधुनिक उपकरण, नयाँ प्रविधिका विषयमा किसानलाई जानकारी गराउने गरी स्टलहरूको व्यवस्थापन गरिएको बताइन् ।उनले एक्स्पोमा आउने किसानहरूले कृषि क्षेत्रमा उदाहरणीय काम गरेका किसान तथा उद्यामीहरूसँग छलफल गरी थप ज्ञान र सिप हासिल गर्न सक्ने स्पष्ट पारिन् । एक्स्पोमा कृषि, औजार, कृषि प्रविधि, कृषि जन्य उत्पादनका भिन्ना भिन्नै किसिमका स्टलहरू राखिएको पोखरेलले बताइन् ।
एक्स्पोमा भारतका कृषिजन्य मिल, मेसिनरी, उत्पादन गर्ने कम्पनीहरूको सहभागिता रहने छ । यस्तै नेपाल कृषि मेसिनरी व्यवसायी संघको कृषि प्रविधि प्रदर्शनसहितको सहभागिता रहने छ । एक्स्पोमा तेह्रथुमको ढाका, संखुवासभाको अल्लो, ताप्लेजुङको राडी, इलामको ललिपप, चियालगायतका कृषिजन्य वस्तुहरूका स्टल राखिने छन् ।