विराटनगरबाट फरार बनेको डेढ महिनापछि पक्राउ परेका कैदी राजकुमार हेमरन ।

विराटनगर । विराटनगरको हाटखोलास्थित मोरङ कारागारका २ जना कैदीबन्दीलाई भगाउन सघाउने प्रहरीविरुद्ध बुधबार अदालतमा मुद्दा दायर भएको छ ।

झापा गाउँपालिका–५ शरणामतिका २८ वर्षीय राजकुमार हेमरन (कैदी) र झापा गाउँपालिका–३ का २८ वर्षीय मञ्जिल गुरुङ (बन्दी) लाई भगाएको घटनामा संलग्न प्रहरी जवान कृष्णमणि मेहताविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको हो ।

जिल्ला कारागार मोरङले सुनसरीको देवानगन्ज घर भएका जवान मेहतासहित दुवैजना कैदीबन्दीलाई प्रतिवादी बनाएर कैदीबन्दी भागे/भगाएको शीर्षकमा मुद्दा दर्ता गरेको छ ।

कैदी हेमरन र बन्दी गुरुङ विराटनगर महानगरपालिका–७ स्थित क्षयरोग उपचार केन्द्रबाट गत असोज १५ गते बिहान फरार भएका थिए ।

जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भएका हेमरनलाई प्रहरीले भागेको डेढ महिनापछि गत मंसिर १ गते पक्राउ गरिसकेको छ । गुरुङलाई भने प्रहरीले अझैसम्म फेला पार्न सकेको छैन ।

अदालतले हेमरनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो । लागूऔषध मुद्दामा गुरुङलाई अदालतले २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनी प्रतिवादी भएको मुद्दाको फैसला हुन बाँकी नै छ ।

क्षयरोग उपचार केन्द्रमा उपचारका लागि भर्ना गरिएका कैदीबन्दीको सुरक्षामा प्रहरी सहायक हवल्दार अरुणकुमार चौधरी र जवान मेहतालाई खटाइएको थियो ।

कैदीबन्दी फरार भएलगत्तै दुवै जनालाई निलम्बन गरेर घटनाको छानबिन एवं अनुसन्धान अघि बढाइएको थियो । छानबिनका लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसएसपी जयराज सापकोटाको नेतृत्वमा समिति बनाइयो ।

सुरक्षामा खटिएका प्रहरीकै कमजोरीले कैदीबन्दी भागेको निस्कर्ष निकाल्दै समितिले दुवै जनाविरुद्ध कारागार ऐनअन्तर्गत कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

समितिले कारागारमा कार्यरत प्रहरी नायव निरीक्षक (सइ) लगायतका प्रहरीविरुद्ध भने विभागीय कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

निमित्त जेलर तुलसीराम भगतको नेतृत्वमा मोरङ कारागारले गरेको अनुसन्धानबाट क्षयरोगको उपचारका लागि भर्ना भएका बेला प्रहरी जवान मेहतासँग ‘सेटिङ’ मिलाएर कैदीबन्दी भागेको पुष्टि भएको छ ।

भगतका अनुसार सरकारी वकिल कार्यालयसँग राय लिँदै प्रहरी जवान मेहतासहित ३ जनालाई प्रतिवादी बनाएर कारागार ऐनअन्तर्गतको मुद्दा अदालतमा दर्ता गरिएको हो ।

मुद्दामा अदालतबाट आदेश नआएसम्मका लागि मेहतालाई हिरासतमा राख्न कारागारका तर्फबाट जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार पनि गरिएको उनको भनाइ छ ।

अनुसन्धानबाट कैदीबन्दीलाई भगाउन प्रहरी जवान मेहताले भूमिका खेलेको पत्ता लागेपनि घटनामा सहायक हवल्दार चौधरीको भने संलग्नता नदेखिएको भगतले बताए ।

उनका अनुसार निलम्बनमा रहेका दुवै प्रहरी कर्मचारीलाई यसअघि हाजीर जमानीमा छाडिएको थियो । ‘ड्युटीमा खटाइएका प्रहरीको मिलेमतोमै कैदीबन्दी भागेको अनुसन्धानबाट पुष्टि भयो,’ भगतले भने, ‘यसमा प्रहरीबाट जानाजान लापरबाही भएको पत्ता लाग्यो ।’

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने प्रहरी जवान मेहतालाई हिरासतमा राख्न कारागारबाट पत्र प्राप्त भए पनि हिरासतमा राख्ने कि नराख्ने भन्ने निर्णय गर्न सरकारी वकिल कार्यालयसँग राय लिने काम भइरहेको बताए ।

उनका अनुसार प्रहरी ऐनअन्तर्गत पनि कारबाही अघि बढिरहेकाले मेहतालाई हिरासतमा राख्ने कि नराख्ने भन्ने द्विविधा भएको छ ।

3.3k
Shares
२१ मंसिर २०७९, बुधबार १८:१७