विराटनगर । महानगरपालिका वडा १२ स्थित नहर क्षेत्र फोहोरले दुर्गन्धित बनेको छ । सफाइमा ध्यान नदिंदा प्रदूषण फैलिएर स्थानीय बासिन्दाको स्वास्थ्यमा नकारात्मक असर पर्ने जोखिम बढेको छ ।
छठ पर्वपछि नहर क्षेत्र सफाइ गरिएको थियो । तर त्यसयता फेरि उस्तै अवस्था देखिएको छ ।एक दशकदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय गणेश धमला फोहोरको सफाइ गरिनुपर्नेमा त्यसो हुन नसकेको बताउँछन् । महानगरपालिकाले सफाइमा ध्यान नदिंदा समस्या भएको उनको भनाइ छ ।
अर्का स्थानीय युव सरोज साह फोहोरले गर्दा दुर्गन्ध फैलिएको बताउँछन् । नहरमा कागज, प्लास्टिक र अरु बेकामे सामानहरु फ्याँक्ने गरिएको छ । कतिपयले मरेका पशुपंक्षी पनि फ्याँक्ने गरेकाले दुर्गन्ध फैलिएर बसिनसक्नु हुन्छ ।स्थानीय ७० वर्षीया उर्मिला साह पहिले अलि सफा हुने गरे पछि पछिल्ला दिन आसपासका बासिन्दाले फोहोर ल्याएर नहरमै फ्याँक्ने गरेकाले दुर्गन्ध बढेको बताउँछिन् ।
महानगरपालिकाको वातावरण तथा सरसफाई शाखाका प्रमुख पुनम दाहालका अनुसार १९ वटा वडामा बिभाजित विराटनगर महानगरपालिकामा देनिक १०० मेट्रिक टन फोहोर निस्कने गरेको छ ।
छठ लगतै नहरमा केराका थामहरु छरपस्ट थिए । तर ती पुरै हटाएर सफा बनाउन सकिएको छैन । नहर क्षेत्र एक महिनाभित्र सफा हुने उनको दाबी छ ।
फोहोर गर्नु हुँदैन भन्ने जाने, बुझेकाहरुले नै फोहोर ल्याएर फ्याँक्ने गरेको पाइएको भन्दै उनले सफाइमा स्थानीय बासिन्दाले पनि सचेत भएर ध्यान दिनुपर्ने औंल्याउँछन् ।
विराटनगरलाई फोहोर व्यवस्थापनका हिसाबले तीन क्षेत्रमा विभाजित गरिएको छ । उत्तरतर्फ वडा १,२,३,४,५ र १९ मा पर्ने पहिलो क्षेत्र हो भने ६ देखि ११ वडासम्म दोसो क्षेत्र र १२ देखि १८ सम्म तेस्रो क्षेत्र गरी विभाजित गरिएको छ ।
तीनै क्षेत्रको फोहोर संकलन गरी व्यवस्थापन गर्न निजी संस्थालाई ५ वर्षका लागि ठेक्का दिइएको दाहालले बताए ।
अस्पतालबाट निस्कने तथा घर भत्काउँदा निस्कने तोडेपछि निस्कने फोहोरबाहेक सबै खालका फोहोर निजी संस्थाको जिम्मामा दिइएको छ ।
महानगरको कार्य क्षेत्रमा पर्ने नाला वर्षमा दुई पटक सफा गर्नुपर्ने गरी सम्झौता गरिएको जनाइएको छ । महानगरको वडा नम्बर ४, ५, ६, ११, १२, १४ र १८ मा नहर पर्छ ।
नहरको परिचालन र सरसफाई सिँचाई कार्यालयले गर्ने गरेको उनले बताए । सगरमाथा सर्भिसेज प्रालि फोहोर व्यवस्थापन सस्ंथाका संयोजक धनकुमार लामाका अनुसार १३ नम्बरका वडा अध्यक्ष सूर्यलाल यादवको नेतृत्वमा नहरमा रहेका केराका थामहरु छठपछि हटाइएको थियो ।
वडा १२ का अध्यक्ष हिरालाल कामतका अनुसार नहरको परिचालन सिँचाई विभागको जिम्मेवारीमा पर्छ । सिँचाई विभागले सफा नगरेकाले ध्यानाकर्षण गराइने उनले बताए ।
(प्रशिक्षार्थी)