विराटनगर । मंसिर १९ गतेदेखि विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई भिन्न किसिमले प्रवर्द्धन गरिने भएको छ ।

थ्रीडी भीआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकारले प्रदेश १ का पर्यटकीय स्थलहरूको भिडियोग्राफीको माध्यमबाट प्रवर्द्धन गरिने भएको हो । एक्स्पोमा अत्याधुनिक प्रविधिको प्रयोग गरिने हुँदा आगन्तुकहरूले प्रदेश १ का पर्यटकीय स्थलहरूलाई नजिकबाट नियाल्न सक्ने छन् ।

प्रदेशको पर्यटकीय स्थलहरूलाई प्रविधिमार्फत नजिकबाट नियाल्न चाहने आगन्तुकहरूलाई लक्षित गरी छुट्टै पेभिलियनको व्यवस्था गरिएको विराट एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले बताए ।

उनका अनुसार एक्स्पोमा थ्रीडीआर प्रविधिको माध्ययमबाट सगरमाथा आधारशिविर, कञ्चनजंघा आधारशिविर, ग्योको लेक, पाथिभरा क्षेत्रको दृश्यावलोकन तथा ‘धार्मिक टूर’ गर्न सकिने छ ।

यस्तै होलोग्राम प्रविधिका माध्ययमबाट समेत ‘भर्चुअल रियालिटी’ मा बराह क्षेत्र, तीनजुरे मिल्के तथा पाथिभराका दृश्यहरू अवलोकन गर्न सकिने छ । राठीका अनुसार प्यागोडा शैलीमा आकर्षक डिजाइनसहित निर्माण गरिने पर्यटन पेभिलियनमा प्रदेश १ का विभिन्न पर्यटकीय गन्तव्यहरूको जानकारी राखिने छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पर्यटन समितिका संयोजक भविशकुमार श्रेष्ठले प्रदेश १ का धार्मिक, सांस्कृतिक, प्रकृतिक पर्यटकीय स्थलहरूका बारेमा एकै थलोमा जानकारी दिइने बताए । उनले पर्यटनका लागि छुट्टै पेभिलियन बनाएर आगन्तुकहरूलाई पर्यटकीय स्थलबारे विस्तृत जानकारी दिइने स्पष्ट पारे ।

एक्स्पोमा राखिने पर्यटन पेभिलियनमा पर्यटन व्यवसायीको संस्था होटल एशोसिएसन, टूर अपरेटर एशोसियसनलगायत संस्थाले माउण्टेन फ्लाइट तथा प्रदेश १ का विभिन्न गन्तव्यहरूको ‘टूर प्याकेज’ उपलब्ध गराउने आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

189
Shares
२१ मंसिर २०७९, बुधबार १२:२०