काठमाडौं। ‘नेफ्टा फिल्म अवार्ड’ को ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ। चलचित्र प्राविधिक संघले आयोजना गर्ने कार्यक्रम आगामी जेठ १३ (२७ मे, २०२३) मा हुने जनाइएको छ ।

संघका अध्यक्ष पुष्कर लामाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताए ।

चलचित्रको अन्तर्राष्ट्रियकरण प्राविधिक संघको जिम्मेवारी रहेको भन्दै लामाले डायस्पोरा घरेलु चलचित्रको ठूलो बजार बन्न सक्ने उल्लेख गरे ।

नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलका रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली चलचित्र संस्कृति र बजारको खोजी गर्ने एवं नेपाललाई अमेरिकी चलचित्र छायाङ्कन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेफ्टा निजी क्षेत्रबाट नेपालमा आयोजना हुने प्रतिष्ठित अवार्डमध्ये मानिन्छ। अवार्डबारे छलफल गर्न आगामी ७ डिसेम्बरमा चलचित्रकर्मी, आयोजक, सञ्चारकर्मीसहितको सर्वपक्षीय जुम बैठक पनि नेफ्टाले आयोजना गरेको छ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन। महामारी सकिएपछि चलचित्र क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो।

यस पटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका चलचित्रले प्रतिस्पर्धा गर्ने भएका छन्। ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा चलचित्र हेर्ने कार्यक्रम छ।

7
Shares
२० मंसिर २०७९, मंगलवार १३:४८