काठमाडौ । सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने व्यक्तिगत पुरस्कार ‘गोल्डेन बुट’ को दाबेदारका रुपमा चर्चा भइरहँदा फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेले भने आफ्नो ध्यान विश्वकप उपाधि हासिल गर्न केन्द्रित रहेको प्रतिक्रिया दिएका छन् ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा आफ्नो ध्यान व्यक्तिगत पुरस्कारमा भन्दा विश्वकप उपाधिमा केन्द्रित भएको उनको भनाइ छ ।

फ्रान्सले प्रि–क्वाटरफाइनलमा आइतबार राति पोल्यान्डलाई ३–१ गोलले हराएर क्वाटरफाइनलमा स्थान बनाएको थियो । उक्त खेलपछि आयोजित पत्रकार सम्मेलनमा एमबाप्पेले आफ्नो एउटै लक्ष्य फ्रान्सलाई उपाधि दिलाउनु भएको बताएका हुन् ।

साबिक विजेता फ्रान्स अहिले कतारमा आफ्नो अब्बल प्रदर्शन गरिरहेको छ ।

प्रि–क्वाटरफाइनलमा फ्रान्सले पोल्यान्डलाई हराउँदा एमबाप्पेले दुई गोल गरेका थिए । अर्को गोल ओलिभर गिरोडले गरेका थिए ।

ओलिभरको गोलमा पनि एमबाप्पेले पास दिएका थिए । विश्वकपमा पाँच गोल गरिसकेका एमबाप्पेले गोलका लागि दुई ‘एसिस्ट’ गरेका छन् ।

२३ वर्षीय एमबाप्पे यो विश्वकपमा गोल्डेन बुटको दाबेदार हुन् । तर, आफू गोल्डेल बल र बुट लिन कतार नआएको प्रतिक्रिया दिएका थिए ।

‘‘हामीलाई अगाडि बढ्न क्वाटरफाइनल झनै महत्त्वपूर्ण छ । म त्यसैमा केन्द्रित हुनेछु । मैले व्यक्तिगत उपाधि जित्नेभन्दा विश्वकप उपाधि रक्षा गर्ने सपना देखेको छु’ उनले भनेका छन् ।

फ्रान्स उपाधिभन्दा धेरै टाढा रहेकोले अझै मिहेनत गर्नुपर्ने पनि उनको भनाइ थियो । सन् १९९८ र २०१८ को विश्वकप उपाधि चुमेको फ्रान्सले क्वाटरफाइनलमा शुक्रबार राति सन् १९६६ को विजेता इङ्ग्ल्यान्डको सामना गर्नेछ ।

इङ्ग्ल्यान्डले प्रि–क्वाटरफाइनलमा सेनेगललाई ३–० गोलले हराउँदै फ्रान्ससँगको भेट पक्का गरेको हो ।

42
Shares
२० मंसिर २०७९, मंगलवार १३:०४