काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत भएका दुई खेलमा ब्राजिल र क्रोएसिया विपक्षीलाई हराउँदै क्वाटरफाइनलमा पुग्न सफल भएका छन् ।

सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो । स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो ।

खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । उनले राफिन्हाको पासमा उत्कृष्ट गोल गरे ।

खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाए । दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो।

२९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दा ब्राजिल ३–० ले अघि रह्यो । खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गर्दै ब्राजिललाई ४–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ होले एक गोल फर्काए पनि ब्राजिल ४–१ ले विजयी भयो ।

अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।

यसअघि क्रोएसिया जापानलाई हराएर अन्तिम आठमा प्रवेश गरिसकेको छ । दक्षिण कोरिया भने विश्वकपबाट बाहिरिएको छ ।

अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसियाले बाजी मार्यो । क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा पेनाल्टीमा चुके ।

जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको पेनाल्टी प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले बचाए ।

पेनाल्टीमा जानु अघि खेलमा सुरुआती अग्रता भने जापानले बनाएको थियो । खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १(० को अग्रता दिलाएका थिए । योशिदाको पासमा उनले गोल गरेका हुन् ।

दोस्रो हाफमा क्रोएसिया खेलमा फर्किएको थियो । ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले डेजोन लेभ्रोनको पासमा हेडमार्फत उत्कृष्ट गोल गरे ।

यस जितसँगै क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले अब ब्राजिलसँग क्वाटरफाइनलमा खेल्नेछ ।

जापान भने राउण्ड अफ १६ बाट बाहिरिएको छ ।

28
Shares
२० मंसिर २०७९, मंगलवार ०५:२५