सतिसकुमार राजवंशी

विराटनगर । प्रदेश १ मा यो वर्ष धान उत्पादन बृद्धि भएको छ । प्रदेश १ कृषि विकास निर्देशनालयका अनुसार १४ वटै जिल्लाबाट संकलित तथ्यांकका आधारमा धान उत्पादन उत्पादन १.२७ प्रतिशतले वृद्धि भएको हो ।

अन्न भण्डार मानिने पूर्वी तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा गत वर्षको तुलनामा यसपालि धान उत्पादन बढेको छ ।

सुनसरीमा आर्थिक वर्ष ०७८/७९ मा ५३ हजार ९ सय हेक्टर क्षेत्रफलमा खेती गरिएकामा २ लाख ७ हजार ६ सय २३ मेटिक टन उत्पादन भएको थियो । यस वर्ष सुनसरीमा ५२ हजार ८ सय हेक्टर क्षेत्रफलमा खेती हुँदा २ लाख ११ हजार २ सय मेट्रिक टन उत्पादन भएको निर्देशनालयकी बाली विकास अधिकृत एलिशा खड्काले जानकारी दिइन् ।

बेलैमा बिउ र मल उपलब्ध हुने अनि सिंचाइको पर्याप्त व्यवस्था गरिने हो भने उत्पादन उल्लेख्य परिमाणमा बढ्न सक्ने किसानहरुको भनाइ छ । भनेको बेला बिउ नपाउँदा अनि सिंचाइको अभावका कारण भने उत्पादन प्रभावित हुने गरेको सुनसरीको सीतापुरका किसान सुरज राजवंशीको गुनासो छ ।

यसैगरी मोरङमा गत वर्ष ८२ हजार ४ सय ६७ हेक्टर क्षेत्रफलमा ३ लाख ३८ हजार १ सय १५ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ७९ हजार ९ सय ६८ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३ लाख ४३ हजार ८ सय ६२ मेट्रिक टन उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

झापामा गत वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रफलबाट ४ लाख २३ हजार ९ सय ६६ मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष ८६ हजार ६ सय २५ हेक्टर क्षेत्रफलबाट ४ लाख २३ हजार ५ सय ९६ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रदेश १ का मध्य पहाडी जिल्लाहरु इलाम, पाचँथर, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ्गमा गत वर्षको तुलनामा शून्य दशमलव शून्य पाँच मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादकत्व वृद्धि भएको निर्देशनालयले जनाएको छ ।

इलाममा यस वर्ष १४ हजार ५ सय १८ हेक्टर क्षेत्रफलबाट ४८ हजार ५६ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ । भोजपुरमा गत वर्षको तुलनामा २ हजार ८ सय ३४ मेट्रिकटन उत्पादन वृद्धि भएको छ । यसैगरी तेह्रथुममा १ हजार ३ सय ५४ मेट्रिक टन, धनकुटामा १ हजार २४ मेट्रिक टन धान उत्पादन बढेको छ ।

उच्च पहाडी क्षेत्रमा पनि उत्पादन वृद्धि भएको छ । ताप्लेजुङमा २० हजार ६ सय ३३ मेट्रिकटन धान उत्पादन भएको छ भने संखुवासभामा ३८ हजार ७ सय ८२ मेट्रिक टन उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

(प्रशिक्षार्थी)

63
Shares
१९ मंसिर २०७९, सोमबार १२:५७