अल थुमामा स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।
खेलको ४४ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई १-० गोलको अग्रता दिलाएका थिए । उनले केलियन एमबाप्पेको पासमा सहज गोल गरे ।पोल्याण्डविरुद्धको गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । जेरुडको यो फ्रान्सका लागि ५२ औं गोल हो । जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान तोडेका हुन् ।
खेलको ७४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाए । उनले ओसुमाने डेम्बेलेको पासमा गोल गरेका हुन् । खेलको इन्जुरी समयमा एमबाप्पेले थुरामको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए ।२३ वर्षीय एमबाप्पेको यो ९ औं विश्वकप गोल हो । एमबाप्पेले २४ वर्षमुनि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले ब्राजिलियन लिजेण्ड पेलेको नाममा रहेको ७ गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।
त्यसपछि इन्जुरी समयमै पोल्याण्डका लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपनि फ्रान्स ३-१ ले विजयी भयो । फ्रान्सका डेयोटले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि पोल्याण्डले पेनाल्टीको अवसर पाएको हो। अब फ्रान्सले अन्तिम आठमा इंग्ल्यान्डसँग खेल्नेछ ।