अरुणकुमार राठी
विराटनगर । व्यावसायिक साझेदारलाई अपहरण गरेर बन्धक बनाउँदै फिरौती रकम असुलेको आरोपमा विराटनगरको एउटा सञ्चारमाध्यमका सञ्चालकविरुद्ध प्रहरीमा आइतबार किटानी जाहेरी परेको छ ।विराटनगरको ‘नेपाल टाइम्स डट नेट’ अनलाइनका सञ्चालक सिरहाको सिरहा नगरपालिका–४ घर भइ विराटनगर महानगरपालिका–६ सरौचियामा बस्दै आएका ३१ वर्षीय शहन्शा सिद्धिकी भनिने अब्दुल खत्ताबविरुद्ध यसबारे प्रहरीमा जाहेरी परेको छ ।
नेपाल टाइम्स मिडिया प्रालिका प्रबन्ध निर्देशक खत्ताबविरुद्ध विराटनगरका उद्योगी एवं व्यापारी ५६ वर्षीय अरुणकुमार राठीले जाहेरी दिएका हुन् ।खत्ताब र विराटनगर–७ का राठी उक्त अनलाइनका व्यावसायिक साझेदार हुन् । खत्ताबसँग ३ वर्षदेखिको चिनजान र सम्पर्कका आधारमा २० प्रतिशत अर्थात ५ हजार कित्ता शेयर लिएर मिडिया प्रालिको सञ्चालकमा आफू पनि बसेको कुरा राठीले जाहेरीमा खुलाएका छन् ।
राठी प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट प्रदेश १ प्रदेशसभाको समानुपातिक उम्मेदवार पनि थिए ।खत्ताबले छायांकनसहितको भिडियो अन्तरवार्ता लिने भनेर आफ्नै स्कुटरमा लगेर आफूलाई बन्धक बनाउँदै कुटपिट गरेको राठीले उल्लेख गरेका छन् ।
घटना मंसिर १४ गते बिहानको हो । सुरूमा एभरेष्ट बोर्डिङ स्कुल अगाडि रहेको ट्रान्स नेपाल फ्रेड सर्भिसेज प्रालिको दोस्रो तलामा लगेर छायांकन गरी अन्तरवार्ता लिएको र त्यसपछि सरौचियास्थित कार्यालयको पुरानो स्टुडियोमा लगेर बन्धक बनाएर कुटपिट गर्दै १५ लाख रूपैयाँको चेक काट्न बाध्य पारेको राठीले जाहेरीमा खुलाएका छन् ।
आफूलाई धेरै अप्ठेरो परेको देखाएर यसअघि पनि खत्ताबले पैसा लिँदै आएको उनले बताए । उनका अनुसार सुरुमा २० लाख रूपैयाँ लगानी गरिएको थियो । त्यसपछि २ पटक ५÷५ लाख गरेर र १ पटक डेढ लाख गरेर ११ लाख ५० हजार रूपैयाँ दिएको राठी बताउँछन् ।
‘अन्तरवार्ता लिने भन्दै फकाएर मलाई मेरै घरबाट स्कुटरमा लिएर गए । अन्तरवार्ता पनि लिए । खत्ताबसँग १ जना अपरिचित व्यक्ति पनि थिए,’ राठीले भने, ‘सोफामा बसिरहेका बेला एक्कासि फलामको साङ्लोले बाँध्न खोजे । भाग्ने प्रयास गर्दा नियन्त्रणमा लिएर हाटखुट्टा बाँध्दै कुटपिट गरे । त्यसपछि १ करोडको ‘बार्गेनिङ’ गर्न थाले ।’
आफ्नो ज्यान खतरामा परेको ठानेर आफूले पनि पैसा दिन्छु भनेर फुत्किने प्रयास गरेको जाहेरीमा उल्लेख गरेका छन्।
त्यहाँबाट १ करोड रूपैयाँमा सुरु भएको ‘बार्गेनिङ’ पछि ३० लाखमा मिलेको राठीले बताए । त्यसपछि घरमा भएको चेक चालकलाई मगाएर १५ लाख रूपैयाँको काटिदिएको उनको भनाइ छ ।
ग्लोबल बैंक लिमिटेडको १५ लाख रूपैयाँको चेक नेपाल टाइम्स मिडिया प्रालिका नाममा तत्काल काटिदिएको र १ सातापछि १५ लाख रूपैयाँ दिने सर्त राखेर आफूलाई छाडिदिएको राठीले बताए ।
अपहरण गरेर मंसिर १४ गते बिहान ६ः३० बजेदेखि १०ः३० बजेसम्म बन्धक बनाउँदै १५ लाखको चेक लिएको भनी राठीले खत्ताबसहित अन्य व्यक्तिविरुद्ध पनि जाहेरी दिएका छन् ।
तर, अन्य व्यक्तिको पहिचान आफूले गर्न नसकेकाले खत्ताबबाटै पत्ता लगाएर कारबाही गर्नुपर्ने माग जाहेरीमा गरिएको छ ।
‘घटनापछि म निक्कै डराएको र त्रसित भएको थिएँ । गोलीले हानेर मारिदिनेसम्मको धम्की दिए । यो कुरा सार्वजनिक गरेमा परिवारलाई समेत सकिदिने धम्की आयो,’ राठीले भने, ‘क्यामेराको ब्यागमा पेस्तोल पनि छ । जिन्दगी एउटा गोली न हो भनी पैसाको ‘बार्गेनिङ’ गरे । मलाई तलमाथि नगर्नू, नत्र बुझेकै छ भनी चेतावनी दिए ।’
खत्ताबले भने व्यावसायिक साझेदार राठीमाथि आफूले कुनै नराम्रो नगरेको दाबी गरेका छन् । ‘अनलाइन सचालनका क्रममा केही तलमाथि भए होलान् । तर अपहरण गरेर बन्धक बनाएको छैन,’ उनले भने, ‘घटनाको वास्तविकता अर्कै छ । त्यो कुरा विस्तृतमा सार्वजनिक गर्ने तयारीमा छौँ ।’
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले अनलाइन सञ्चालक खत्ताबविरुद्ध किटानी जाहेरी परेको जानकारी दिए । ‘पक्राउका लागि अदालतबाट अनुमति लिने तयारी गरिएको छ,’ उनले भने, ‘अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ ।’