दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको छ । विराटनगरमा आइतबार न्यूनतम तापक्रम १४ सम्म र अधिकतम तापक्रम २८ डिग्री सेल्यिससम्म रहने जनाइएको छ ।
मौसमविद हिरा भट्टराईका अनुसार तराईका जिल्लामा केही दिनयता हुस्सु लागिरहेको छ । अब बिस्तारै पहाडी जिल्लाहरुमा पनि बढ्दै जाने क्रम सुरु भएको छ ।विज्ञका अनुसार मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । मजाले बादल लाग्यो भने बादलले ‘ब्ल्यांकेट’ को काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ ।
अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो । यस्तै यतिबेला रात लामो हुने भएको र सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो बढ्ने गर्छ ।आइतबार बिहान साढे ७ बजे काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ। यो हालसम्मको सबैभन्दा कम तापक्रम हो।
हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४, जुम्लामा माइनस ३.५, र जिरिमा १.६ छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका एकदुई स्थानमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
तराईमा हुस्सु कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।