काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू युक्रेनमा शान्तिवार्ताको लागि तयार रहेको बताएका छन् । यद्यपि युद्धविरामको लागि पुटिनले केही सर्त पनि राखेका छन् ।

पश्चिमेली राष्ट्रहरुले रुसद्वारा कब्जा गरिएका भूभागहरुलाई मान्यता नदिएकाले युद्धविरामको बाटो अझै धमिलिएको पुटिनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रुस समकक्षीसँग भेट्न तयार रहेको बताएपछि पुटिनले आफू पनि युद्धविरामको लागि तत्पर रहेको बताएका हुन् ।

रुसले दुई महिना अघि युद्धको बीचमा नै युक्रेनको चार राज्यमा जनमत संग्रह गरी युक्रेनी भूभाग रुसमा गाभेको थियो । उक्त जनमत संग्रहलाई पश्चिमेली राष्ट्रहरुले मान्यता दिएका छैनन् ।अमेरिकी राष्ट्रपति बाइडेनले गत बिहीबार रुसी राष्ट्रपतिसँग आफू भेटघाटको लागि तयार भएको बताएका थिए । तर बाइडेनले युद्ध अन्त्य गर्न रुस तयार भए/नभएको हेर्न बाँकी नै रहेको बताएका थिए ।

यसैबीच युक्रेनी सेनाको सक्रियताले कब्जा गरिएका धेरै स्थानहरु छाड्न रुसी सेना बाध्य भएका छन् । शुक्रबार जर्मनीका चान्सलर ओलाफ शोल्जले रुसी राष्ट्रपति पुटिनसँग भेटघाट गरेका छन् । एक घन्टासम्म चलेको उक्त वार्तापछि जर्मनीले युद्धको हल हुने बताएको छ ।
63
Shares
१७ मंसिर २०७९, शनिबार १५:२४