विराटनगर । भारतबाट केही कम मूल्यमा आएको भए पनि पेट्रोलियम पदार्थको मूल्य नेपालमा तत्काल नघट्ने भएको छ । नेपाल आयल निगमले मूल्य नघटाउने जानकारी दिएको हो ।

मंसिर १५ गते इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको घटेको मूल्य सूची पठाएको छ ।कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य घटेर आए पनि तत्काल पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना नरहेको बताए ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा २.३८ रुपियाँ, डिजेलमा ११ रुपियाँ, मट्टितेलमा ८० पैसा र हवाई इन्धनमा ७ रुपियाँ घटेर आएको छ । एलपी ग्यासमा भने प्रतिसिलिण्डर २४४ रुपियाँ बढेर आएको निगमले जनाएको छ ।

उपाध्यायका अनुसार निगमलाई ५८ करोड रुपियाँ नाफा भएको छ । तर, निगमले इन्डियन आयल कर्पोरेसनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब रुपियाँ तिर्न बाँकी रहेको उनको भनाइ छ ।
42
Shares
१७ मंसिर २०७९, शनिबार १४:४२