यो विराटनगरमा नेपथ्यले गरेको दुई दशकपछिको पहिलो कार्यक्रम हो । दुई दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको क्रममा उसले यहाँ कार्यक्रम प्रस्तुत गरेको थियो ।
यसपटक ‘मानवताको लागि संगीत’ अभियान देशव्यापी गर्ने क्रममा प्रदेश १ को राजधानी विराटनगरबाट सुरु गरिएको हो ।नेपथ्यले सुरुमा गीत ‘भेडाको ऊनजस्तो’ गीत प्रस्तुत गरेको थियो। मञ्चमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
त्यसपछि ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतहरु प्रस्तुत गरिएको थियो ।कन्सर्टपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक, दुईवटा बस र केही साना सवारीमार्फत् शनिबार बिहान वीरगन्जतर्फ प्रस्थान गरेको छ।

आदर्शनगर रंगशालामा मंसिर १९ गते सोमबार नेपथ्यको कार्यक्रम हुने नेपालयले जनाएको छ।
त्यसपछि क्रमशः पश्चिमतर्फ लाग्दै काठमाडौंमा पुस १६ गते भृकुटी मण्डपमा कार्यक्रम गरेपछि अभियान समापन हुने जनाइएको छ ।
यसपाला नेपथ्यले देश दौडाहाका क्रममा सांगीतिक मनोरञ्जनको योजना मात्र बोकेको छैन । मानवताको प्रवर्द्धनका लागि आफूलाई मञ्चहरूमा उभ्याउने अठोट बोकेको नेपथ्यले सडकमा रहेका असहायहरूका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोग समेत जुटाउनेछ ।
आफ्ना गीतहरूलाई ‘मानवता प्रवर्द्धन अभियान’ सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ ।
घर परिवार र आफन्तविहीन भइ वा परिवार र समाजबाट अपहेलित भइ मानसिक रोग लागेका मानिसहरुको सेवामा समर्पित विशुद्ध मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दशकयता सक्रिय छ ।
यो संस्थाले तीन वर्ष भित्रमा सिंगो मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ ।
‘नेपथ्यको कन्सर्टलाई सफल तुल्याउन ७७ वटै जिल्लामा रहेका हाम्रा स्वयंसेवीहरु परिचालित गरिनुका साथै देशभरि नै टिकट बिक्री खुला भइसकेका छन्,’ मानव सेवा आश्रमका संस्थापक एवं अध्यक्ष रामजी अधिकारीले भने ।