काठमाडौ. । नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूका कारण आफ्नो २५ सिट गुमेको निष्कर्ष निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा अरु स्वतन्त्र उम्मेदवारका कारण कम्तीमा २५ सिट गुमाउनुपरेको एमालेको प्रारम्भिक निष्कर्ष छ ।

एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले जित्ने निश्चित भएका ८ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार हाबी भएको र पार्टीका उम्मेदवार उपविजेता भएको औंल्याउँदै प्रत्यक्षमा करिब ८ सिट र समानुपातिकमा १७ सिट गुमाउनुपरेको निष्कर्ष निकालिएको हो ।

एमाले काठमाडौं २ र ५ तथा चितवन १ र २ मा चुनाव जित्नेमा ढुक्क थियो । काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनाव जिते । काठमाडौंका अन्य क्षेत्रमा पनि एमाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग दोस्रो भएको थियो ।

चितवन १ र २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पहिलो हुँदा एमाले उम्मेदवार दोस्रो स्थानमा आए । सत्तारुढ दलबीच गठबन्धन नभएको भए प्रत्यक्षतर्फ एक सय सिट कटाउने समीक्षा एमालेको छ ।

हारजित भएका स्थानमा पनि झिनो मत रहेको समीक्षा गर्दै एमालेले आफूमाथि स्वतन्त्र र स्वतन्त्र पार्टीका नाममा प्रहार भएको निष्कर्ष निकालेको छ ।

एमालेले प्रत्यक्षतर्फ ४४ सिट प्राप्त गरेको छ । समानुपातिकमा अन्य दलभन्दा एमाले अगाडि छ । प्राप्त मतमा धेरैजसो स्थानमा एमाले दोस्रो भएको छ । एमालेले आफ्ना उम्मेदवार दोस्रो भएका स्थानमा पार्टीको मत स्वतन्त्र उम्मेदवारहरूमा गएको निष्कर्ष पनि निकालेको छ ।

49
Shares
१७ मंसिर २०७९, शनिबार १२:२७