तस्बिरः केएल भिज्यूल आर्ट
रस्मी थापामङ्सिर लागेसँगै विवाहको चहलपहल बढ्छ । मंसिरलाई खास विवाहको मौसम पनि भन्ने गरिन्छ । यति बेला टेलर, बुटिकमा धमाधम विवाहका लागि पहिरन तयार भइरहेका छन् ।
समाजमा विवाहलाई पवित्र, सुन्दर र सुखद सम्बन्धको रुपमा लिइन्छ । यस्तो शुभ अवसरमा सबैलाई उत्कृष्ट, आकर्षक र सुहाउँदो पहिरन लगाउने चाहना हुनु स्वभाविक हो । मानिसकाे आवश्यकता, राेजाइ र लगानी अनुसार बजारमा यतिबेला समयानुकूल फेशनेबल पाेसाकहरु देख्न सकिन्छ ।विवाहमा दुलहा, दुलहीले कस्तो पोसाक लगाउँदा उत्तम हुन्छ ? वर्ण अनुसार कुन डिजाइन राम्रो हुन्छ ? यहीँ विषयमा आधारित रहेर विराटनगरस्थित भेराइटिज बुटिकका डिजाइनर अक्बर अन्सारीले दिएका ६ पहिरन टिप्सः
१. वर्ण अनुसार पोसाकको रङ्ग छनोट गर्नुहोस्आफूलाई मन परेको पोसाक छनाेट गर्दा कहिलेकाहीँ नसुहाउने हुन्छ । त्यसैले आफूलाई आकर्षक बनाउन आफनो वर्ण अनुसारको पोसाक छनाेट गर्दा उचित हुन्छ । गोरो वर्णको लागि मरुन, गाडा ग्रिन र गहुँगोरो वा कालो वर्णको लागि लाइट रङको पोसाक छनाेट गर्दा उचित हुन्छ ।
२. कम्बिनेसन महत्वपूर्ण
उचाइको आधारमा आफ्नो पोसाक निर्धारण गर्नैपर्छ भन्ने हुँदैन । कम्बिनेसन मिलाएर लगाउन सकिए सबै लुगाले सबैलाई सुहाउँछ । विशेषतः अग्लो दुलहालाई दौरा सुरुवाल र होचो दुलहीलाई लेहेङ्गाले सुहाउने गर्छ ।
३. जाडोमा भेल्भेटलाई प्राथमिकतामा राख्नुहोस्
कसैको दिवा लगनमा त कसैको रातमा विवाह हुने गर्छ । दिनको समयमा सामान्य कपडाले ठिकै हुन्छ तर जाडो महिनामा राति चिसो हुने हुँदा पोसाक डिजाइन गर्दा भेल्भेटलाई प्राथमिकतामा राख्न सकिन्छ । त्यसबाहेक भित्रबाट सुहाउँदो फ्याब्रिकको प्रयोग बुद्धिमानी हुन्छ ।
४. दौरा सुरुवालमा टोपी अनिवार्य
अहिलेको ट्रेन्ड हेर्दा टोपीको प्रयोगमा कमी आएको छ । कतिपयले आफ्नो मनले प्रयोग गर्छन् । तर परम्परागत हिसाबले टोपी प्रयोग गर्ने हो भने दौरा सुरुवालसँग प्रयोग गर्नु एकदमै राम्रो हुन्छ ।
५. दुलहीलाई पूर्ण रुपमा सजिन घुम्टोको प्रयोग
घुम्टो प्रयोग गर्ने ट्रेन्डमा कमी आएको छ तर दुलहीलाई पूर्ण रुपमा सजिन घुम्टोले मद्दत गर्छ । घुम्टोले दुलहीलाई भिन्नै शोभा दिने हुँदा प्रयोग गर्नु सुहाउँदिलाे हुन्छ ।
६. आवश्यकता अनुसार मात्र अतिरिक्त वस्तुकाे प्रयोग
दुलहाले दौरा सरुवालमा थप ढाका टोपी, खुकुरी, पटुका, प्वाँख र कोट पाइन्टमा टाइ र पकेट रुमाल प्रयोग गर्दा उचित हुन्छ । दुलहीको पहिरन सारी चोलो छ भने थप घुम्टो, माला, मखमलको जुत्ती लगाउँदा अझै सुहाउँदिलाे देखिन्छ ।
(प्रशिक्षार्थी)