विराटनगर । यसपटक पनि मोरङमा बदर भएको मतको संख्या निकै रह्यो । गत स्थानीय निवार्चनमा मतपत्र कम र तुलनात्मक रुपमा सजिलो मतपत्र भए पनि बदर मतको संख्या उल्लेख्य छ ।
मोरङका ६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा खसेको ४ लाख ८५ हजार ४ सय ९९ (६६.०१ प्रतिशत) मतमध्ये २८ हजाार ८ सय ६५ (५.९५ प्रतिशत) बदर भएको छ ।प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको २ लाख ८३ हजार ५ सय ३२ (६५.७४ प्रतिशत) मतमध्ये २७ हजार २८ (५.९५ प्रतिशत) मत बदर भएको छ ।
अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भन्दा यसपटक बढी मत बदर भएको छ । २०७४ मा प्रतिनिधिसभा निर्वाचनमा बदर भएको मत ५.३० प्रतिशत थियो भने यसपटक ५.९५ प्रतिशत पुगेको छ ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको स्विकारेका छन् । चारवटा मतपत्रमा मतदान गर्नु पर्नेमा एउटै मतपत्रमा ४ ठाउँ स्वस्तिक छाप हानेको मतपत्र धेरै पाइएको थियो ।
‘समानुपातिको हकमा प्रदेशतर्फ सूची पेस नगरेका दलहरुको चुनाव चिह्नमा पनि मतदान गरिएको पाइयो’ उनले भने ‘कतैकतै आफूले चाहेको सम्बन्धित दलको चुनाव चिह्न नभएपछि मतदाताले विरोधस्वरुप जानीजानी दोब्बर हालेको, केरमेट गरेको पनि देखिएको छ ।’
सामाजिक सञ्जाल, रेडियो, टेलिभिजनबाट मतदान गर्ने तरिका सिकाइएको थियो । हरेक पालिकामा माइकिङ्ग गरेर पनि मतदान गर्ने तरिका जानकारी दिइएयको उनले बताए । ‘विद्युतीय प्रणालीमा मतदान गराउन सके बदर मत शून्य हुने अधिकारीको भनाइ छ ।
(प्रशिक्षार्थी