प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका–४ का ६१ वर्षीय र ३५ वर्षीय पुरुषबाट २३ वर्षीया बुहारी बलात्कृत भएकी हुन् । ६१ बर्से वृद्ध पीडितका आफ्नै (सहोदर) ससुरा हुन् । ३५ बर्से पुरुष काका ससुरा हुन् ।
गत भदौमा पहिलोपटक काका ससुराबाट बलात्कृत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसको ५ दिनपछि आफ्नै ससुराबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार कामका सिलसिलामा बाहिर गएका परिवारका सदस्य घर नफर्किएपछि खोज्दै पीडित काका ससुराको घरमा पुगेकी थिइन् । त्यही बेला बुहारीलाई आफ्नो कोठामा लगेर काका ससुराले बलात्कार गरेको खुलेको छ ।
काका ससुराबाट बलात्कृत हुँदा पीडामा परेकी उनी त्यसको ५ दिनपछि आफ्नै ससुराबाट बलात्कृत भएकी हुन् । भदौको घटना अहिलेसम्म बाहिर आएको थिएन ।‘आफू ससुरा र काका ससुराबाट पालैपालो बलात्कृत हुँदा पनि परिवारको इज्जत र प्रतिष्ठाका लागि पीडितले घटना बाहिर ल्याउन नचाहेको पाइयो । पीडितलाई अनेक धाकधम्की पनि दिइएको रहेछ,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘डर र त्रासका कारण पनि पीडित घटनालाई लुकाउन बाध्य भएको खुल्यो । बलात्कारबाट गर्भ नै बसेपछि घटना बाहिरिएको हो ।’
बलात्कारबाट पेटमा बच्चा बसेको थाहा भएपछि भने पीडित आफैँ न्याय माग्दै प्रहरी कार्यालयमा पुगेकी हुन् । उनले ससुरा र काका ससुराविरुद्ध इलाका प्रहरी कार्यालय बेलटारमा बिहीबार किटानी जाहेरी दिएकी छन् ।
किटानी जाहेरी परेपछि प्रहरीले पीडितका ससुरालाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको छ । काका ससुरा भने फरार बनेका छन् । फरार रहेका उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
बुहारीलाई बलात्कार गर्नेविरुद्ध प्रहरीले करणी मुद्दा चलाउने तयारी थालेको छ । पीडितको गर्भमा ३ महिनाको बच्चा रहेको खुलेको छ ।