बिहीबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १३औं प्राज्ञसभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरेका थिए ।
सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यात तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रस लगायत अन्य सामग्रीहरुको आयात शुल्क छुट गर्नुपर्ने माग राख्दै नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने कुलपति कर्माचार्यले सुझाव दिएका छन् । यसको प्रोत्साहनका लागि नीति, नियम र कानूनमा सुधार हुनुपर्नेमा उनले जोड दिएका छन् ।सातवटै प्रदेशमा कला प्रदर्शनी र प्रतियोगिता गराएर छनोट भएका कलाकृतिहरुलाई राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउने व्यवस्था र प्रतिष्ठानका क्षेत्रीय शाखा कार्यालयहरुको व्यवस्था हुनुपर्ने प्रतिष्ठानले माग गरेको छ ।
राष्ट्रमा संग्रहालय, ग्यालरी, संस्था, प्रतिष्ठान आदीको अध्ययन, अनुसन्धान हुनुपर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा उच्च योगदान दिने कलाकारहरुलाई उच्च मूल्यांकन गरी उच्चस्तरको पदक तथा पुरस्कारको व्यवस्था हुनुपर्ने, ललितकला र पर्यटकीय विकासका निम्ति बृहत् कलाग्रामको स्थापना गराउनतर्फ सहयोगी भुमिका खेल्न प्रतिष्ठानले सरकारसँग अनुरोध गरेको छ ।