नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको उल्लेख गर्दै अब कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित कोइरालाले आफू काठमाडौं फर्किएर पार्टी सभापति र अरु नेताहरुसँग सल्लाह गर्ने उल्लेख गर्दै सरकार निर्माणबारे टुंगो लगाइने बताए ।
बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।
प्रस्तुत छ, पत्रकार सम्मेलनमा सञ्चारकर्मी र डा. कोइरालाबीचको प्रश्नोत्तर–
निर्वाचनको अनुभव कस्तो रह्यो ?
निर्वाचन निष्पक्ष, धाँधलीरहित तवरबाट सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । अब अहिलेकै गठबन्धनकै नेतृत्वमा सरकार बन्छ । सातवटा दल राष्ट्रिय दलका रुपमा आइसके । केही स्थानको परिणाम आउन बाँकी छ । एकीकृत समाजवादी पनि राष्ट्रिय दलका रुपमा आउँछ भन्ने आशा छ । चुनावीअघि गठबन्धन गर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाली कांग्रेस एकठाउँ थियौं । त्यसमा केही थपिनुपर्यो भने थपिन्छ ।
निर्वाचनअघि गठबन्धन र निर्वाचनपछि गठबन्धनको चर्चा भएको थियो, कुनचाहिँ उपयुक्त हो ?
म पहिले पोस्ट इलेक्सन गठबन्धन हुनुपर्छ भन्ने पक्षमा थिएँ । तर अब निर्वाचन भइसक्यो, धेरै परिणाम पनि आइसक्यो । अब यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भन्ने हुँदैन । अब गठबन्धनकै सरकार बन्छ र नेपाली कांग्रेसको नेतृत्वमै गठबन्धन बन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादी हामीसँगै हुन्छन् ।
गगन थापा प्रधानमन्त्री बन्ने चर्चा छ, विश्वप्रकाश शर्माको यसमा समर्थन देखिएको छ, तपाईंको यसमा के भूमिका हुन्छ ?
काठमाडौं गएर साथीहरुसँग सल्लाह गर्छु । पार्टी सभापतिजी, वरिष्ठ नेताहरुसित कुरा गर्छु । गगनजीसँग त पक्कै कुरा गरिहाल्छु । अनि सल्लाह हुन्छ ।
तपाईंको पनि प्रधानमन्त्री बन्ने चाहना होला नि ?
प्रधानमन्त्री हुने चाहना भएर मात्र हुने होइन । संसदीय प्रणालीमा नम्बरको खेल हुन्छ भन्ने बुझ्नुपर्छ । पहिले संसदीय दल बन्नुपर्यो । संसदीय दलको नेता बन्नुपर्यो । यसबारे हामी सल्लाह गरेर निर्णय गर्छौं ।
गगन थापासँग तपाईंको कुराकानी भएको छ कि छैन ?
म आजसम्म विराटनगरमै छु । लामो कुराकानी हुन पाएको छैन । फोनमा अलिअलि कुरा भएको छ ।
तपाईंको समर्थन गगनलाई हुन्छ ?
कसैले कसैलाई समर्थन गरेरमात्र हुने होइन । नम्बरको खेल हुन्छ भन्ने बुझ्नुपर्ने कुरा हो । कसको नम्बर के छ भन्ने कुरा हेर्नु परेन ?
निर्वाचनअघि विराटनगरको राजनीतिक साख फिर्ता गर्ने कुरा गर्नुभएको थियो, कसरी ?
विराटनगर राजनीतिक राजधानीका रुपमा पहिलेदेखि नै परिचित थियो । २००७ सालको क्रान्तिदेखि नै अग्रणी हो । तर पछिल्लो समय केही ओझेलमा परेको छ । यो सबैले महसुस गरेको कुरा हो । फेरि साख फर्काउनका लागि हामीले काठमाडौंबाट र यहाँका डेमोक्र्याट, वामपन्थी साथीहरु अनि जनता सबैको सहयोग चाहिन्छ । सबैको सहयोगबाट हामी विराटनगरलाई राजनीतिक राजधानी फेरि बनाउन सक्छौं भन्ने विश्वास छ ।
त्यसका लागि संसदीय दलको नेता, प्रधानमन्त्री बन्नुपर्यो होला नि ? तपाईं प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा आउला, होइन ?
प्रधानमन्त्री हुनैपर्छ भन्ने कुरा पनि होइन । प्रधानमन्त्री हुन्न भन्ने कुरा पनि होइन । विराटनगरलाई राजनीतिक राजधानी बनाउनु अलग कुरा हो ।
संसदीय अंकगणित हेर्दा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने संकेत देखिन्छ । विगतमा उहाँको शासनशैली आलोचनाको केन्द्रमा रह्यो । फेरि पनि उहाँ नै प्रधानमन्त्री बन्ने हो ? तपाईंले शेरबहादुरजी र म मिलिसक्यौं भनेको कुरा आएको थियो नि ?
शेरबहादुरजी र म मिलिसकेको भन्ने कुरा कुन प्रसंगमा भनेको भन्ने कुरा पहिले बुझ्नुपर्छ । पार्लियायामेन्ट्री पार्टीमा सल्लाह गरेर चुनावका लागि उम्मेदवारीको टिकट दिइसक्यौं । पार्लियामेन्ट्री बोर्डमा म पनि छु । हामीले मिलेरै, सल्लाह गरेरै वा झगडा गरेरै टिकट दियौं होला, यो विषयमा किन तपाईंहरु किन झगडा गर्नुहुन्छ भन्ने प्रसंगमा बोलेको कुरा हो । तर बाहिर फरक तरिकाले कुरा आएको मात्र हो ।
अर्को कुरा, अंकगणितीय हिसाबमा हेर्दा शेरबहादुरजीकै बर्चश्व छ भन्ने देखिन्छ अहिले । अब कसरी जाने भन्नेमा हामी सल्लाह गर्छौं । पार्टी सभापतिसँग सल्लाह नगरी जिम्मेवार ठाउँमा बसेको मान्छेले अघि बढ्ने कुरा हुँदैन । अरु साथीहरुसँग पनि सल्लाह गर्छौं ।
अब जनताको चाहना के छ भन्ने कुरा जहाँसम्म छ, त्यो चाहनाविपरीत भयो भने के गर्ने भन्ने प्रश्न हो भने, हामी संसदमा त हुन्छौं नि । संसदमा सबै कुरामा ह्वीप लाग्ने कुरा हुँदैन । केही गलत काम भयो भने हामी संसदमा पनि अनि बाहिर पनि कुरा उठाउँछौं ।
स्पष्ट हुन के जरुरी छ भने सुशासनबिना अब देश चल्न सक्दैन । भ्रष्टाचार न्यूनीकरण गर्न सकिएन भने गाह्रो छ । मुलुक आर्थिक हिसाबले कमजोर छ, धरासायी नै भइसकेको छ । यो अवस्थाबाट उकासिन भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी छ ।
भ्रष्टाचार न्यूनीकरणको कुरा गर्नुभयो । आफ्नै पार्टीका नेताले गल्ती गरेको विषयमा पनि संसदमा कुरा उठ्छ ?
बोलिन्छ । भ्रष्टाचार भइरहेको छ भने जोसुकै होस् संसदमा बोलिन्छ । यसमा कुनै ह्वीप लाग्ने भन्ने हुँदैन । ह्वीप लाग्ने त एउटा सिस्टम छ नि ।
पार्टीमा, सरकारमा पुस्तान्तरणको कुरा कसरी अघि बढ्छ ?
मैले भने नि, पार्लियामेन्ट्री पार्टीको नेतृत्वका लागि गणितीय खेल (नम्बर गेम) नै हो । हामीले त्यो नम्बर पुर्याउन कोसिस गर्ने हो । तर नम्बर पुगेन भने शिथिल बनेर बस्ने कुरा आउँदैन । हाम्रा एजेन्डाहरु छन् । ती एजेन्डालाई अघि बढाउँछौं ।
हिन्दू राष्ट्रका बारेमा तपाईंको के धारणा छ ?
सबै धर्म र संस्कृतिको संरक्षण गर्नु जरुरी रहेको छ । संरक्षण गर्न सके समाज र समग्रमा देश सभ्य हुन्छ । त्यही अवस्थाबाट देश समृद्धिको बाटोमा अघि बढ्दै जान्छ ।
तपाईंलाई उपपधानमन्त्री वा अरु कुनै शक्तिशाली मन्त्रीको अफर आयो भने सरकारमा जानुहुन्छ ?
मन्त्रिमण्डलमा जाने नजाने कुरामा अहिले म यसै भन्न सक्ने अवस्थामा छैन ।
केही नयाँ पार्टीहरुको उदय भएको छ, यसलाई कसरी लिनुहुन्छ ?
ती पार्टीहरुको आइडियोलोजी के हो भन्ने कुरामै अलमल देखिरहेको छु । कुनै नेताले एकखाले कुरा गरेका छन् भने अरु नेताले अर्कै खाले कुरा गरेका छन् । कोही ‘सेन्टर टु द लेफ्ट’ अनि कसैले सेन्टर टु द राइट’ भनेका छन् । कतिपयले हामी वैचारिक हिसाबले अघि बढेको होइन, सुशासनका दिनका लागि आएका हौं भन्ने गरेका छन् । जब वैचारिक हिसाबमा अघि बढेपछि मात्र थाहा हुन्छ, खास कुरा के हो भन्ने ।
विश्व राजनीतिमा पनि पुरातनवादी धार अघि बढिरहेको देखिन्छ । नेपालमा राप्रपा अघि बढिरहेको छ । नयाँ पार्टीले पनि अर्कै धारको कुरा गरिरहेको छ । यस्तो अवस्थाप्रति के भन्नुहुन्छ ?
नेपाली कांग्रेस अहिले पनि ‘सेन्टर टु लेफ्ट’ नै हो । पार्टीमा लिबरल जति छन् उनीहरु पनि त्यही हुन् । तर बहुआयामिक पार्टी भएकाले कसैकसैको झुकाव योभन्दा फरक पनि हुन सक्छ । यो स्वाभाविकै हो ।
गठबन्धन गर्दा पनि बहुमत पुर्याउन गाह्रो भयो नि । यो गठबन्धन सफल कि असफल के मान्नुहुन्छ ?
मैले सोचेको हिसाबले नेपाली कांग्रेसको यो निर्वाचनमा उपलब्धि ठिकै हो । मैले प्रत्यक्षतर्फ ५५ देखि ६० सिट भनेको थिएँ । समानुपातिकतर्फ ३० देखि ३५ सिट भनेकै थिएँ । सार्वजनिक रुपमा भनेकै हुँ । म अचम्म मानिरहेको छैन । जे अनुमान थियो, त्यही नतिजा आएको छ ।
बहुमत ल्याउन नसक्दा गठबन्धनको नेतृत्वकर्ता दलको प्रमुखको हैसियतले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने होइन ?
एमालेको पनि त गठबन्धन भएको छ । एमालेको चाहिँ गठबन्धनै नहुने हुन्छ र कांग्रेसको गठबन्धनलाई मात्रै ध्यान दिने हो र ? राजीनामा भन्ने कुरा व्यक्तिमा भर पर्छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कतिपयले भन्छन् भने कतिपयले किन दिने भन्छन् । आ–आफ्नो सोचाइको कुरा हो । सोचिएको परिणाम नै आएको छ भने यसमा आश्चर्य मान्नुपर्ने अवस्था छैन ।
अब बन्ने सरकार पाँच वर्षसम्म चल्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
सांसदको हैसियतले म विश्वस्त छु ।
कांग्रेसभित्रको झगडाले निर्वाचनपछि पार्टी फुट्छ भन्ने चर्चा पनि सुनिन्छ नि ?
पार्टी फुट्दैन ।
प्रदेशमा कांग्रेसको संसदीय दलको नेता को बन्ला ?
केही परिणाम आउन बाँकी छ नि । दुई तीनजना, चारजना इच्छुक हुनुहोला, त्यसै मध्येबाट कोही बन्नुहुन्छ ।