विराटनगर । जाडो बढेसँगै बजारमा न्यानो कपडाहरु आउन थालेका छन् । जाडोयाममा लगाइने ज्याकेट, टोपी, पञ्जा, माेजा, गलबन्दी लगायतका कपडा बजारमा उपलब्ध भए पनि व्यापार चिन्ताजनक रहेको व्यापारी बताउँछन् ।
चिसोको कारण हुनसक्ने राेगबाट बच्नको लागि जाडोमा शरीरलाई न्यानो लुगाले ढाक्न आवश्यक हुन्छ। जाडोका लागि बजारमा आवश्यक कपडा आइसकेको भएपनि पसलमा ग्राहककाे चहलपहल नभएकाे नन्दनी रेडिमेड कपडा पसलका सञ्चालक मनोज देवले बताए ।बिहान र बेलुकीपख मात्र जाडो हुने भएकाले खास्सै बिक्री नभएको देव बताउँछन् । बजारकाे माग धान्ने हिसाब गरेर सामान ल्याएकाे बताउने देव आवश्यक परे मात्र सामान थप्ने याेजनामा छन् ।
एकातिर बजारमा व्यापार नहुनु र अर्काेतिर बैंककाे ब्याजमा लगातार वृद्धि हुनुले व्यापारी दाेहाेराे मारमा परिरहेकाे उनले गुनासाे पाेखे ।‘बैंकबाट कर्जा लिएर व्यापारमा लगानी गरिरहेका छाैँ । सामान ल्याउने र पसलकाे कोठा भाडा पनि त्यहीँ कर्जाबाट नै तिरिरहेका छाैँ तर अहिले व्यापार ठप्प जस्तै हुँदा हामीलाई दाेहाेराे मार परिरहेकाे छ’ व्यापारी देवले भने, ‘सामान त्यसै थन्काउनुभन्दा खरिद मुल्यभन्दा कममा बेचेर भएपनि केही रकम बटुलिरहेका छाैँ तर व्यापार पूरै घाटामा छ ।’
विराटनगरस्थित न्यू लाइफ स्टाइल कपडा पसलका सञ्चालक माेहम्मद फैयाज आलमले जाडो कम भएको कारण व्यापार खासै नभएको बताए । त्यसबाहेक नेपाली सामग्री गुणस्तरीय र महङ्गो हुने भएकाले प्रायः मानिस सस्तोमा खरिद गर्न सीमावर्ती भारतीय बजार जोगबनी जाने गरेको उनी बताउँछन् ।
‘नेपालमा पाइने सामग्री गुणास्तरीय हुने गर्छन् त्यसैले महङ्गाे हुन्छ’ आलमले भने, ‘अधिकाशं ग्राहककाे राेजाइमा सस्ताे लुगा पर्ने गर्छ त्यसैले नेपालभन्दा जाेगबनीमा खरिद गर्ने धेरै हुनुहुन्छ ।’
आलमकाे तर्कमा सहमत हुँदै श्री बाघेश्वरी एण्ड जेनेरल स्टोरकी सञ्चालक प्रीतिदेवी पौदारले पसलमा बिक्रीका लागि जाडोको कपडा भएपनि अधिकाशं ग्राहक जाेगबनी जाने गरेकाले व्यापारमा मन्दी आएकाे बताउँछिन् ।
बच्चाहरुको कपडा पाउने उनकाे पसलमा सस्ताे मुल्यमा सामग्री बिक्री हुने गरेकाे भएपनि ग्राहककाे मनाेविज्ञानमा नेपाली बजार महङ्गाे हुने भएकाले व्यापार ठप्प रहेकाे उनले बताइन् ।
के भन्छन् बजारमा भेटिएका ग्राहक ?
व्यापारीले नेपाली बजारमा महङ्गाे भएकाे तर्कलाई बजारमा भेटिएका ग्राहकले पनि पुष्टि गरिदिएका छन् । तर नेपालका र अन्य बजारमा मुल्यमा खास भिन्नता नभएकाे उनीहरुले बताए ।
जाडोको लागि न्यानो कपडा खरिद गर्दै गर्दा भेटिएका सौरव मिश्रले पहिलेकाे तुलनामा मुल्य खासै महङ्गाे नभएकाे बताए ।
‘नेपालका बजारमा गुणस्तरीय कपडा भेटिन्छन् त्यसैले छिमेकी भारतका बजारकाे तुलनामा केही महङ्गाे त पक्का छ तर मुल्यमा ठूलाे अन्तर छैन’ उनले भने, ‘अलि महङ्गाे भएपनि नेपाली बजार नै मेराे प्राथमिकतामा रहन्छ ।’
ज्याकेट किन्न बजार आएका रामशङ्कर यादव भारतीय बजारकाे तुलनामा नेपाली बजारमा पाइने उत्पादन नै आफ्नाे राेजाइमा पर्ने बताउँछन् ।
एएमजी टाइम्सकाे लत्ताकपडा खरिद गर्न जाेगबनी जानुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘नेपालमा नै किन्ने गर्छु भारतमा पाइने कपडा चित्त बुझ्दाे हुँदैन ।’
विराटनगरकाे बजारमा भेटिएका महोत्तरीका अजयकुमार रायले कपडाकाे मुल्यमा नेपाल र भारतबीच खासै भिन्नता नभएकाे बताए । ‘नेपालमा पाइने लुगा वर्तमान समयमा चलिरहेकाे फेसनसँग मिल्दाेजुल्दाे हुन्छ’ उनले भने, ‘जाेगबनी र नेपालमा उस्तै मुल्यमा लुगा पाइने र नेपालमा खरिद गर्दा समयकाे पनि बचत हुने भएकाले यतै किन्ने गरेकाे छु।’
(प्रशिक्षार्थी)

