विराटनगर । प्रतिकूल परिवेश र नीतिहरुका कारण मुलुकमा आर्थिक समस्याहरु उत्पन्न भइ अर्थतन्त्र संकुचित भएकामा विराटनगरका उद्योगी–व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ, प्रदेश नम्बर १ का अध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।तरलता अभावले सिर्जित लगानीयोग्य पूँजीको अभाव, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रभावले लागत खर्चमा भएको वृद्धि, मागमा भएको ह्रास, उधारो असुलीमा भइरहेको कठिनाई जस्ता कारणले असहज अवस्था आएको उनीहरुको भनाइ छ ।
विभिन्न कारणले मुलुकको उत्पादकत्व तथा आर्थिक अवस्था ह्रासोन्मुख भएको अनि मुलुकको उद्यमशीलता, रोजगारीसहित समस्त आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको उद्योगीहरुको ठहर छ ।यस्तो जटिल आर्थिक अवस्थामा सुधारका लागि नेपाल सरकार र अर्थ व्यवस्थापकीय निकायहरुलाई तत्कालै समसामयिक उचित नीति र व्यवस्थाहरु अवलम्बन गर्न बारम्बार आवाज उठाउँदै आएको उनीहरुले स्मरण गरेका छन् ।
यस सन्दर्भमा विद्यमान बैंकिङ एवं वित्तीय अवस्थाको सुधारका लागि नेपाल राष्ट्र बैंकले हालै मौद्रिक नीतिको समीक्षा गर्दै वाणिज्य बैंकहरुको ४.४ प्रतिशतको स्प्रेडदरलाई ४ प्रतिशत कायम गर्ने निर्णय गरेकोमा त्यसले हालको चर्को बैंक व्याजदरमा केहि राहत तुल्याउने जनाइएको छ ।
राष्ट्रबैंकको उक्त निर्णयको उनीहरुले स्वागत गरेका छन् । तर उक्त स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गरिए त्यसले दीर्घकालिन रुपमा सकारात्मक प्रभाव पर्ने हुँदा निर्णयमा थप लचकता अपनाउँदै ३.५ प्रतिशतको स्प्रेडदर कायम गर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गरिएको छ ।
राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई हालै कार्यान्वयनमा ल्याएकोमा विद्यमान आर्थिक जटिलतालाई दृष्टिगत गर्दै आगामी ३ वर्ष सम्मका लागि सो व्यवस्था स्थगित गर्न पनि उनीहरुको अनुरोध छ ।
भूपरिवेष्ठित र आयातमुखी हाम्रो मुलुकलाई वस्तु आयात गर्न ३ महिना र उत्पादन, बिक्री वितरण एवं भुक्तानी रकम प्राप्त गर्न ३ महिनासम्म लाग्ने गरेकाले वर्षमा २ पटक मात्र ‘रोटेसन’ गर्न सकिने हुँदा वार्षिक कारोबारको २५ प्रतिशत मात्र कर्जा लिन पाउने नियम अव्यवहारिक देखिएको भन्दै त्यो दायरा बढाउन उद्योगीहरुको आग्रह छ ।
‘सीडी रेसियो’ को सट्टा ‘सीसीडी रेसियो’ लाई आगामी ३ वर्ष सम्म ९० प्रतिशत कायम गरी तरलता अभावको समस्यालाई दीर्घकालीन रुपमा सुधार गर्न अनुरोध पनि गरिएको छ ।
त्यस्तै, ‘सीआरआर’ मा यसै वर्षदेखि भएको १ प्रतिशत बृद्धिमात्रले पनि बैंक तथा वित्तीय संस्थाहरुको ५१ अर्ब लगानी योग्य रकम निब्र्याजी रुपमा केन्द्रीय बैंकमा थन्किएकाले तत्काल यसलाई साविककै ३ प्रतिशतको सीमामा घटाई यो रकम प्रणालीमा फर्काएर लगानी योग्य पूँजी बृद्धि गर्ने र आधारदर, व्याजदर न्यून गर्ने नीति अवलम्बन गर्न पनि आग्रह गरिएको छ ।
समग्र बैंक वित्तीय संस्थाहरुको सञ्चालन तथा कर्मचारी खर्च उनीहरुको ‘टर्नओभर’ को आधारमा हुने गरी सीमा निर्धारण गरी अनावश्यक खर्च न्यूनकरण र बेसरेट घटाउने वातावरण सिर्जना गर्न अनुरोध गरिएको छ ।
विगतमा प्रतीतपत्र जारी गर्ने बैंक स्वयें नै प्रतितपत्र ‘डिस्काउन्टिङ गर्ने व्यवस्था भएकोमा हाल उक्त व्यवस्था बन्द गरिएको र महंगो दरमा ‘डलर टिआर’ लिनुपर्ने व्यवस्थाका कारण आयातमा लागत वढ्न गएकाले साविकझैँ ‘एलसी डिस्काउन्टिङ’ को व्यवस्थालाई निरन्तरता दिन भनिएको छ ।
हालै सम्पन्न निर्वाचनबाट अब चाँडै नयाँ सरकारको गठन हुने भएकाले त्यसबाट मुलुकमा स्थायित्व कायम हुने र विद्यमान जटिल आर्थिक अवस्थाहरुको सामान्यीकरण एवं औद्योगिक, व्यावसायिकमैत्री नीति नियमहरुको अवलम्ब नहुने अपेक्षा उद्योगी-व्यवसायीको छ ।
(प्रशिक्षार्थी)