एमालेले विजय जुलुस निकालिरहेका बेला दोहोरो झडप भएको हो । झडपमा परेर दुवैतर्फका कम्तीमा ६ जना घाइते भएका छन् । घाइतेहरुको दुहवीमै उपचार भइरहेको छ । प्रहरीका अनुसार लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलमलगायत घाइते भएका हुन् ।
सुनसरी क्षेत्र नम्बर ३ बाट भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि एमालेले विजय जुलुस निकालेको थियो । चौधरीसहित प्रदेशसभा सदस्यमा निर्वाचित रोहित कार्कीलगायत सहभागी जुलुसमा ढुंगामुढा भएपछि झडप हुन पुगेको प्रहरीले जनाएको छ ।‘विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताले सुरुमा कांग्रेसका कार्यकर्तामाथि अविर फ्याँकेछन् । त्यसलगत्तै आक्रोशित बनेका कांग्रेसका कार्यकर्ताले ढुंगामुढा सुरु गरे,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि दुई पक्षीय झडप भयो । झडपसँगै छाताबेलीको अवस्था तनावपूर्ण बन्यो ।’ प्रहरीका अनुसार झडपमा उत्रिएका दुवैतर्फका कार्यकर्ताले ढुंगामुढा गर्दा छाताबेली क्षेत्रको अवस्था तनावग्रस्त बनेको हो ।
ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिएका थिए । प्रहरी परिचालन गरेर अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।प्रतिनिधिसभा सदस्यमा एमालेकी भगवती चौधरीसँग कांग्रेसका विजयकुमार गच्छदार पराजित भएका छन् । गच्छदारले यो क्षेत्रबाट २०४८ पछिका सबै चुनाव जितेका थिए ।