जनकपुर । विवाह पञ्चमीको अवसर पारेर जनकपुरधाममा आयोजित एकै कार्यक्रममा २६ जोडी विवाह बन्धनमा बाँधिएका छन् । एकै मण्डपबाट उनीहरुको विवाह सम्पन्न भएको हो ।

जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास गर्न विश्व हिन्दू परिषद् नेपालले आयोजना गरेको कार्यक्रममा सामूहिक विवाह भएको हो ।

परिषदले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । विवाह पञ्चमीमा भगवान श्री सीतारामको विवाह भएकै मण्डपमा सामूहिक विवाह आयोजना गर्ने गरिएको छ ।

चार वर्षदेखि भइरहेको सामूहिक विवाहको उद्देश्य जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तव्यको रुपमा पर्यटनको विकास गर्नु र दहेज (दाइजो) उन्मूलनको सन्देश प्रवाह गर्नु रहेको आयोजकको भनाइ छ ।

स्थानीय समुदायबाट सहयोग संकलन गरी मिथिलाको विवाहमा बेहुलीलाई उपहारस्वरुप दिइने मङ्गलसू, बिछाओन, लत्ताकपडासहितको व्यवस्थापन आयोजकले गर्दै आएको छ ।
119
Shares
१४ मंसिर २०७९, बुधबार १४:३६